सङ्खुवासभा / निर्वाचनको मिति नजिकिएसँगै एउटा मात्रै निर्वाचन क्षेत्र रहेको सङ्खुवासभाको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट बाम लोकतान्त्रीक गठबन्धनका तर्फबाट कांग्रेसका दीपक खड्का र एमालेका राजेन्द्र गौतमबीच तेस्रो पटक चुनावी प्रतिस्पर्धा हुन लागेको हो । 

OM Sai Pathibhara Hospital

यसअघि क्षेत्री र गौतमले दुई पटक चुनावी प्रतिस्पर्धा गरिसकेका छन् । दुवै जनाले एक–एक पटक चुनाव जितेका छन् ।

२०७० सालको चुनावमा सङ्खुवासभाको तत्कालीन क्षेत्र नम्बर –२ मा खड्काले गौतमलाई हराएका  थिए । गाैतमले १० हजार ९७३ मत ल्याउँदा खड्काले ११ हजार ५५२ मत ल्याएर विजयी भएका थिए । 

एउटा मात्र निर्वाचन क्षेत्र कायम भएपछि ०७४ काे चुनावमा भने नतिजा उल्टियो, माओवादीका समेत साथ लिएर बाम गठबन्धनबाट उम्मेदवार बनेका गाैतम विजयी भए । गौतमले ३२ हजार ७ सय ६९ मत ल्याएर विजयी भएका थिए भने त्यसबेला खड्काले ३१ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए । 

जम्मा १ हजार १ सय ३० मतान्तरले विजयी भएका एमालेका उम्मेदवार गौतमलाई यस पटक भने चुनाव जित्न चुनौती छ । अघिल्लो निर्वाचनमा नेकपा माओवादीको मतसहित उनी विजयी भएका थिए । ०७४ मा एमाले र माओवादीले चुनावी गठबन्धन बनाएका थिए ।

तर, यसपटक चुनावी कोर्स बदलिएको छ । अहिले नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादीसहितको वाम लोकतान्त्रिक गठबन्धन छ । त्यसैले यो पटक अघिल्लो निर्वाचनको बदला लिने दाउमा खड्का रहेकाछन् । आफू चुनाव जित्नेमा खड्का ढुक्क छन् ।

स्थानीय तहको मत परिणाम अनुसार पनि गठबन्धनका उम्मेदवार खड्का बलियो देखिन्छन्। सङ्खुवासभामा ५ नगरपालिका र ५ गाउँपालिका गरि १० स्थानीय तह छन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेस ६ र एमाले ४ स्थानीय तहमा विजयी भएका थिए ।

प्रदेशसभातर्फ संखुवासभा १ मा एक स्वतन्त्रसहित जनाले मनाेनयन दर्ता गराएका छन् । तर गठबन्धन दलबाट माओवादी केन्द्रका राजेन्द्र कार्की र नेकपा एमालेका भविश्वर गुरुङ बीचनै मुख्य प्रतिस्पर्धा देखिएको छ । यी दुवै नयाँ अनुहार हुन् ।

संखुवासभाको प्रदेशसभा २ मा ३ स्वतन्त्रसहित १० जनाले मनोनयन दर्ता गरेका छन् । तर गठबन्धन दलका तर्फबाट नेकपा एकीकृत समाजवादीकी सरिता थापा खड्का र एमालेका विदुरकुमार लिङ्थेपबीच प्रतिस्पर्धा छ । प्रदेश सभा २ मा प्रतिस्पर्धामा रहेका यी दुवै उम्मेदवार पनि नयाँ अनुहार हुन् ।

१ लाख १७ हजार ५ सय ५४ जना कुल मतदाता रहेको सङ्खुवासभामा ५६ हजार ६ सय ९० महिला र ६० हजार ८ सय ६४ पुरुष मतदाता छन् ।