काठमाडौं / वैशाख ३० गते शुक्रवार (भोली) हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कतिपयले मतदान सकिएपछि मतपेटिका साटिने र चलखेल हुनसक्ने आशंका गरेका छन् ।  

स्थानीय तहको निर्वाचनमा गठबन्धन सहित विभिन्न दलका नेताबीच बलियो प्रतिष्पर्धा देखिएकाले धेरैले मतदान सकिएर मतपेटीका साटिन सक्ने सम्भावना रहेको बताउँदै निर्वाचनको निष्पक्षता र स्वच्छता माथि प्रश्न उठाउने गरेका छन् । 

OM Sai Pathibhara Hospital

मतदान हुनु अघिदेखि मतगणना सम्म विभिन्न सुरक्षा र विश्वसनियताका उपाय अपनाएकोले भन्दै मतपेटिका साटिने अनुमान गर्नु पनि हास्यास्पद हुने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताएका छन् ।

सबै संयन्त्र आफ्नो पक्षमा पारे पनि मतपेटिका साट्न र मत बदल्न भने असम्भव रहेको पौडेलले बताएका छन् ।

आयुक्त पौड्यालका अनुसार, मतपेटिकामा भएको एउटा ठूलो बिर्को पूरै खोल्न मिल्छ भने मतदाताले आफूले छाप लगाएको मत खसाउन मिलेपनि निकाल्न नमिल्ने गरी अर्को बिर्को भित्र सानो प्वाल हुन्छ । 


ठूलो अर्थात मुख्य बिर्कोमा चारवटा सिल लगाउन मिल्छ भने मतपत्र खसाउने सानो प्वालको बिर्कोमा पनि अर्को सिल लगाउन मिल्छ ।

मतदान अगाडि नै सबै दलका प्रतिनिधिहरूको उपस्थितिमा मतदान अधिकृतले रित्तो मतपेटीका भित्र केही नभएको सुनिश्चित गरेपछि मात्र त्यसको बिर्कोमा चारवटा सिल लगाइने समेत पौडेलले बताएका छन् ।

निर्वाचन आयोगले मतपेटिकामा लगाउने सिल प्लाष्टिकको भएका कारण सिल लगाएपछि फुस्काउन मिल्दैन । सिल तोड्नका लागि कैँचीले सिलको बाहिरको भाग काटेर तोड्नु पर्ने हुन्छ । 

हरेक सिलमा भएका सिरियल नम्बर फरक फरक हुन्छन् भने सिलमा भएको सिरियल नम्बर पनि समावेश गरेर बनाइएको मुचुल्कामा दलका प्रतिनिधिहरूले हस्ताक्षर गर्नु पर्ने हुन्छ । 

बिहान ७ देखि दिनभर मतदान हुँदा मतपेटिकाको मुख्य बिर्को सिलबन्दी गरिएको हुन्छ र माथिबाट पट्याएको मतपत्र खसाल्ने प्वाल मात्रै खुला हुन्छ । 

बेलुकी पाँच बजे मतदान सकिएपछि मतदान अधिकृतले सबै दलका प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थितिमा मतपेटिकाको बिर्कोमा रहेको मत खसाल्ने प्वालमा पनि अर्को सानो बिर्को लगाएर सिलबन्दी गर्छन । 

पूरै सिलबन्दी गरिएको मतपेटिकालाई सुरक्षाकर्मी र मतदान अधिकृतको जिम्मामा मतदान केन्द्रदेखि निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइन्छ ।

दलका प्रतिनिधिहरूले निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका लग्दा मतपेटीका साटिने आशंका गर्ने गरेकाले सकेसम्म दलका प्रतिनिधिहरूलाई पनि मतपेटिकाका साथमा लैजाने व्यवस्था मिलाइएको हुन्छ ।

त्यसपछि मतपेटिका कुनै ठाँउमा भण्डारण गरेर रातभर राख्दा भने कोठाका सबै झ्याल र प्वालहरू बन्द गरेर ढोका समेत सिलबन्दी गर्ने चलन छ ।

सबैतिरबाट मतपेटिका संकलन भएपछिमात्रै मतगणनाको काम सुरु गरिन्छ भने मतपेटिकाको बिर्कोको सिल तोड्नुअघि सुरुको मुचुल्कामा लेखेको नम्बर र सिलमा रहेको सिरियल नम्बर रुजु गरिन्छ । 

त्यसपछि दलका प्रतिनिधिहरूको रोहबरमा मतपेटिकाबाट मतपत्र निकालेर गणनाको काम सुरु हुन्छ । 

विश्वसनीयता र गोपनियताका लागि प्रायः दुईभन्दा बढी मतदान स्थलका मतपत्र मिसाएर गन्ने चलन रहेको छ ।

मतपत्रमा अन्य सुरक्षा फिचर र मतदान अधिकृतको दस्तखतका कारण पनि मतपेटिका साटिन सम्भव नहुने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । 

निर्वाचन आयोगका दुई अधिकारीहरू बाहेक तेस्रो व्यक्तिलाई समेत थाह नहुने गरि मतपत्रको बिचमा विशेष सुरक्षा संकेत राखिएको हुुन्छ ।

अर्कोतर्फ मतदान अधिकृतले मतदानस्थलमा बाहेक अन्यत्र मतपत्रमा हस्ताक्षर गर्न नपाउने भएकाले पनि उसैको हस्ताक्षरयुक्त फर्जी मत खसालेर अर्को मतपेटिका तयार राख्न सम्भव हुँदैन ।