झापा / स्थानीय तह निर्वाचनमा तीन गाउँपालिका अध्यक्षसहित तीन सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।  

निर्वाचन अयोगले प्रकाशन गरेको एक लाख ४५ हजार १० जना उम्मेदवारको अन्तिम नामावली मध्ये तीन सय ९० जना निर्विरोध निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

गत वैशाख ११ र १२ गते दुई दिन सात सय ५३ वटा स्थानीय तह र त्यसका छ हजार सात सय ४३ वडामा परेको उम्मेदवारी मध्येबाट उनीहरु निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।  

अयोगका अनुसार सबैभन्दा धेरै दलित महिला निर्विरोध निर्वाचित भएका छन् । १६४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् भने खुला वडा सदस्य तर्फ १०१ जना निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै ७१ जना महिला सदस्य र ४८ जना वडा अध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा ३–३ जना निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ । 

निर्विरोध निर्वाचित हुनेमा सबैभन्दा धेरै नेकपा (एमाले) बाट उम्मेदवारी दिएका जनप्रतिनिधि रहेका छन् । एमालेबाट एक जना गाउँपालिका अध्यक्ष, दुई उपाध्यक्ष, १७ जना वडाअध्यक्ष र एक सय १७ जना निर्विरोध भएका छन् ।

त्यस्तै नेपाली कांग्रेसबाट एक जना गाउँपालिका उपाध्यक्ष, १६ वडाअध्यक्ष र ९८ जना वडा सदस्य निर्विरोध भएका छन् भने नेकपा (माओवादी केन्द्र) बाट ६० जना निर्विरोध भएका छन् । निर्विरोध हुनेमा तीन जना गाउँपालिका अध्यक्ष र ५७ जना सदस्य रहेका छन् । 

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट ३५ जना निर्विरोध भएका छन् । जसमा दुई जना गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, छ वडाअध्यक्ष र २६ जना सदस्य रहेका छन् । 

त्यस्तै ३६ जना स्वतन्त्र उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्रबाट अध्यक्षमा छ जनासहित ३५ निर्विरोध भएका आयोगले जनाएको छ । 

आयोगका अनुसार सबैभन्दा कम राप्रपाबाट दुई जना खुला सदस्य, जसपालोसपाबाट एक–एक जना दलित महिला सदस्य निर्विरोध भएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला सदस्य निर्विरोध निर्वाचित भएकी छिन् । 

त्यसैगरी डोल्पाका दुई गाउँपालिकामा उम्मेदवारी दिएका सबै जना निर्विरोध निर्वाचित भएका छन् । एकीकृत समाजवादी, कांग्रेस र एमाले तथा स्वतन्त्रबाट उम्मेदवारी दिएका सबै जनप्रतिनिधि निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार डोल्पाका तीन गाउँपालिकाका अध्यक्ष निर्विरोध भएका छन् । काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगदकुमार राना, छार्का ताङसोङ गाउँपालिका अध्यक्षमा समाजवादीकै सेनाङ गुरुङ र शे–फोक्सुन्डो गाउँपालिकामा एमालेका धावा सम्डुक गुरुङ निर्वाचित भएका छन् ।

त्यस्तै मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मेङमर फुन्चो लामा, डोल्पाको काइके गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका निमा बुढा, छार्का ताङसोङको उपाध्यक्षमा कर्म ढुन्डप गुरुङ र डोल्पोबुद्धको उपाध्यक्षमा समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्वाचित भएका छन् ।

यस्तै उम्मेदवारी दर्ता नै नपरेपछि एक सय २३ वडामा दलित महिला सदस्य खाली भएका छन् । कर्णालीका ३७ वडा, गण्डकीका २५, प्रदेश १ मा ६, वाग्मतीका ३७ वडामा उम्मेदवारी परेको छैन । काठमाडौं भक्तपुर र ललितपुरमा मात्रै २६ वडामा दलित महिलाको पद रिक्त भएको छ । मधेसमा ६ र सुदूरपश्चिममा १० पद रिक्त भएका छन् ।

स्थानीय निर्वाचनमा पालिका प्रमुखमा ३ हजार २ सय ३८, अध्यक्षमा ३ हजार ९२, उपप्रमुखमा १ हजार ९ सय ६४, उपाध्यक्षमा २ हजार १ सय ६३, वडा अध्यक्षमा ३२ हजार ४ सय ९६ जनाले उम्मेदवारी दिएका छन् । 

वडा सदस्य खुलामा ५३ हजार १ सय ७३, महिला सदस्यमा २५ हजार ५ सय ९९, दलित महिला सदस्यमा २३ हजार २ सय ८५ जनाले उम्मेदवारी दिएका छन् ।