काठमाडौं / स्थानीय तहको निर्वाचनमा १२ हजार ७ सय ८९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका छन् । तीमध्ये १० हजार ८ सय ४५ पुरुष र १ हजार ९ सय ४४ जना महिलाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन् ।

स्वतन्त्रबाट प्रमुख पदमा १ हजार ४ सय, अध्यक्षमा १ हजार ३५, उपप्रमुखमा ३ सय ९८, उपाध्यक्षमा ३ सय ६७, वडाध्यक्षमा ५ हजार ९ सय २०, महिला सदस्यमा ७ सय ६४, दलित महिला सदस्यमा ४ सय ७६ र सदस्यमा २ हजार ४ सय २९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

आयोगका अनुसार १ सय ८३ जना मतदाता रहेका तेस्रोलिंगी समूहबाट नेतृत्वको लागि कतै पनि मनोनयन दर्ता भएको छैन । नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट ३३ हजार ५ सय ३ जनाले मनोनयन दर्ता गरेका छन् । 

आयोगका अनुसार एमालेका तर्फबाट प्रमुखमा २ सय ९१, अध्यक्षमा ४ सय ४७, उपप्रमुखमा २ सय ८६, उपाध्यक्षमा ४ सय ४५, वडाध्यक्षमा ६ हजार ५ सय २३, महिला सदस्यमा ६ हजार ४ सय ११, दलित महिला सदस्यमा ६ हजार २ सय ९ र सदस्यमा १२ हजार ८ सय ९१ जनाको उम्मेदवारी परेको छ । कुल उम्मेदवारमध्ये १९ हजार ४ सय ९९ जना पुरुष र १४ हजार ४ जना महिला रहेका छन् ।

यसैगरी नेपाली कांग्रेसको तर्फबाट ३१ हजार ४ सय २५ जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये १२ हजार १ सय ४५ जना पुरुष र १२ हजार ८ सय ८२ जना महिला रहेको आयोगले जनाएको छ । 

कांग्रेसबाट २ सय ६५ जना प्रमुखमा, अध्यक्षमा ३ सय ८१ जना, उपप्रमुखमा २ सय १२ जना, उपाध्यक्षमा ३ सय ६० जना, वडाध्यक्षमा ६ हजार १ सय ४२ जना, महिला सदस्यमा ६ हजार ९२ जना र दलित महिला सदस्यमा ५ हजार ८ सय २८ जनाको उम्मेदवारी परेको छ ।

नेकपा माओवादी केन्द्रका तर्फबाट १३ हजार ३ सय २ जना पुरुष र ८ हजार ९ सय ७७ जना महिला उम्मेदवार गरी २२ हजार २ सय ७९ जनाले मनोनयन दर्ता गराएका छन् । 

नेकपा एकीकृत समाजवादी पार्टीबाट ११ हजार ३ सय ३० जनाले मनोनयन दर्ता गराएका छन् । तीमध्ये ७ हजार ६३ जना पुरुष र ४ हजार २ सय ६७ जना महिला उम्मेदवार रहेको आयोगले जनाएको छ ।