बिर्तामोड / नेपालको समग्र अर्थतन्त्र थलिँदै गएपछि भारी मूल्यमा आयात हुने गरेको पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले विभिन्न अभियान सुरु गरेको समयमा नास्टले बनाएको इलेक्ट्रिक स्कुटरले अर्थतन्त्रमा नै टेवा पुग्ने भएको छ  । अन्तराष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि आयात गर्न ठुलो कठिनाइ भइरहेको समयमा इलेक्ट्रिक स्कुटरको निर्माण सान्दर्भिक र प्रासंगिक बनेको हो । 

नेपालको अर्थतन्त्रले व्यापार घाटा खेपीरहेको समयमा पेट्रोलियम पदार्थको आयातमा राज्यको ठूलो धनराशि खर्च भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य आकासिँदै गएपछि पेट्रोलियम पदार्थको प्रयोग हुने सवारीसाधनको विकल्प खोज्न नेपाली नागरिक बाध्य हुन थालेका छन् । 

OM Sai Pathibhara Hospital

यही समयमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको विद्युतीय स्कुटरको सम्भाव्यताले जनस्तरमा आशाको किरण पलाएको छ । लुम्बिनी प्रदेशमा इलेक्ट्रिक स्कुटरको व्यवसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यका साथ अघि बढाइएको यो परियोजना लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा सफल भएको हो । 

सम्भाव्यता अध्ययनका साथै एउटा इलेक्ट्रिक स्कुटरको प्रोटोटाइप निर्माण गर्नेगरी नास्ट र लुम्बिनी प्रदेश सरकारबीच केही समयअघि सम्झौता भएको थियो । प्रतिष्ठानका प्रविधि सङ्काय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार नेपाली भूगोललाई सुहाउँदो मोडल हाल प्रोटोटाइप (नमूना) निर्माण गरेको छ । 

प्रतिष्ठानले नेपालमा नै कारखाना स्थापना गरेर काम गर्दा के कस्तो प्राविधिक तथा आर्थिक तयारी गर्नुपर्छ भन्नेबारेमा समेत अध्ययन गरिरहेको छ । नास्टका टेक्निकल लिड प्रल्हाद गुप्ताको नेतृत्वमा तीन लाखभन्दा बढीमा बनाइएको विद्युतीय स्कुटरलाई नेपालभित्रै न्यूनतम एक लाख ५० हजारदेखि दुई लाखसम्ममा उत्पादन सकिने जनाइएको छ । 

लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा अघि बढेको यो परियोजना अन्तर्गत स्कुटर निर्माण तथा अध्ययनको काम सम्पन्न भएको समेत ढकालले बताएका छन् । रुस र युक्रेनबीचको युद्धका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आयात गर्न चुनौती खेपीरहेको नेपाल आयल निगमलाई पनि यसको उत्पादनले निकै सहज हुने भएको छ । 

अर्थतन्त्रमा सुधार ल्याउन इन्धन खपत घटाउनका लागि देशका ठूला सहरमा जोर बिजोर प्रणाली समेत लागू गर्न सरकारले योजना बनाइरहेको समयमा यो योजनाले निकै राहत दिने भएको छ । त्यस्तै , चालु आर्थिक वर्षको हिँउदमा मात्रै प्रतिदिन ६०० मेगावाटको विद्युत खेर गईरहँदा यसले विद्युत उत्पादन र उपयोगलाई पनि प्रोत्साहन गर्ने भएको छ । 

विद्युत स्कुटरको प्रयोगले इन्धनको खपत घटाएर आयात नियन्त्रणमा टेवा पुर्याउँनेछ भने यसले देशको विद्युत खेर जानबाट रोक्ने प्रचुर सम्भावना समेत देखिएको छ । नेपालको अवस्था पनि श्रीलंका हुन सक्ने दिन नजिकिदै गर्दा ठुलो विद्युत उत्पादन क्षमतालाई समेत प्रोत्साहन गर्ने विद्युतीय स्कुटरको निमार्णमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले हाँसील गरेको यो सफलताई नेपाल सरकारले पनि प्रोत्साहन गर्न आवश्यक छ । 

प्रविधिमा त्यसै पनि पछाडी रहेको हाम्रो देशलाई विश्व भर चिनाउन र अझ धेरै अहिलेको विधमान स्थितिमा निम्तिएको आर्थिक संकट हल गर्न पनि यस्लाई सम्पुर्ण नेपालीले उपयोग गरेमात्र देशको आर्थिक स्तिथिमा सुधार ल्याउन सकिने छ ।