बिर्तामाेड / स्थानीय तहको निर्वाचनको मुखमा नेपाल प्रहरीमा नयाँ नेतृत्वको लागि तिव्र प्रतिस्पर्धा सुरु भएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले ३० वर्षे सेवा हदका कारण अवकाश पाउने समय नजिकिँदै गर्दा भावी आईजीपीको दाबेदारमा एआईजीहरुको प्रतिस्पर्धा सुरु भएको हो । 

OM Sai Pathibhara Hospital

आइजीपी क्षेत्रीले यही वैशाख १९ मा अनिवार्य अवकाश पाउँदैछन् । हाल प्रहरीमा आईजीपीका लागि २०४९ चैत्र ११ गते प्रहरी निरीक्षकको वैकल्पिकमा भर्ना भएका विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रविन्द्र धानुक प्रतिस्पर्धामा छन् ।

प्रहरी ऐन, २०१२ को दफा ९ (१) मा राजपत्रांकित प्रहरी अधिकृतको नियुक्ति र बढुवा सरकारबाट हुने व्यवस्था छ भने प्रहरी नियमावली २०७१ को नियम ४१ मा प्रहरी महानिरीक्षक पदमा बढुवा सम्बन्धी व्यवस्था छ । 

बढुवाका लागि गृह मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेपछि सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट ज्येष्ठता, कार्यकुशलता, कार्य क्षममता, उत्तरदायित्व वहन गर्ने सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता, तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने व्यवस्था छ । 

राजनीतिक खेल नहुने हो भने बरियाताका आधारमा पोखरेल भावी आइजीपी बन्ने सम्भावना बढी देखिन्छ । चारै जना एआईजीको फरक फरक समयमा बढुवा भएको थियो । 

पोखरेल ११ चैत २०४९ मा नेपाल प्रहरीमा प्रवेश गरेका थिए । २७ वैशाख २०७६ मा डीआईजी र २५ मंसिर २०७७ मा एआईजीमा बढुवा भएका थिए । त्यसकारण आगामी वैशाखसम्म उनको एआईजीमा कार्यकाल डेढ वर्ष भइसक्नेछ । 

जब कि अर्का एआईजी सहकुल थापा गत २१ असार एआईजीमा बढुवा भएका थिए । आगामी बैशाखसम्म उनको एआईजीमा कार्यकाल ९ महिनामात्र पुग्छ भने दुई एआईजीहरू सिंह र धानुकलाई हालै चैतमा एआईजीमा बढुवा गरिएको हो । उनीहरूको एआईजीमा कार्यकाल डेढ महिना मात्र पुग्छ । 

राजनीतिक हस्तक्षेप र वरियता तथा कार्यसम्पादन लगायत बढुवाका आधारलाई बेवास्ता गर्दै आईजीपी चयन गर्दा प्रहरीमा बेलाबेलामा विवाद समेत हुने गरेको छ । 

निर्वाचनको समय नजिकिएसँगै आफू अनुकुलको प्रहरी महानिरीक्षक चयन गर्न राजनीतिक दलहरूको फोहोरी खेल सुरु भएको हाे ।

एआईजी पोखरेलको ब्याचबाट बैशाखपछि बन्ने प्रहरी महानिरीक्षकको कार्यकाल चैत २०७९ सम्म हुन्छ । यो करिब १ वर्षको समय भनेको तीनै तहको निर्वाचन हुने बेला हो ।