बिर्तामोड / अनलाइन नेटवर्किङ व्यवसायको नाममा दुबइमा रहेका नेपालीलाई ठगी गर्दै आएको इन्फिनिटी कम्पनीले क्रिप्टोमा लगानी गरेको पाइएको छ । 

इन्फिनिटीमा लगानी गरेका सदस्यहरूलाई नेपालमा गैरकानुनी मानिएको क्रिप्टोमा लगानी गर्न भन्दै कम्पनीका सञ्चालक राकेश पन्तले ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाए पछि यो कुरा बाहिरिएको हो । 

OM Sai Pathibhara Hospital

सदस्यहरूलाई गत बिहीबार ह्वाट्सएपमा भ्वाइस म्यासेज पठाउँदै सञ्चालक पन्तले नेटवर्कमा व्यवसाय गर्न नचाहने सदस्यको अप्रिल महिना भित्र सावा रकम फिर्ता गर्ने र कम्पनीमा लगानी गर्न चाहने सदस्यले १० दिनभित्र क्रिप्टोमा जोडिने बताएको पीडित लगानीकर्ताले जानकारी दिए । 

पीडितका अनुसार पन्तले नेटर्वकमा जोडिएर व्यवसाय गर्न चाहने सदस्यले पुनः पाँच देखि एक हजार डलरसम्म लगानी गर्नुपर्ने समेत बताएका थिए । 

कम समयमा उच्च प्रतिफल पाउने र अरुलाई पनि जोडे कमिसन पाउने प्रलोभन देखाउँदै इन्फिनिटीले ठगी गरेको लगानीकर्ताहरू बताउँछन् । 

दुबइमा २५ सय भन्दा बढी नेपालीहरू ठगिएका भएपनि नेपाल सरकारले डिजिटल करेन्सीलाई अवैध मानेका कारण आफूहरू कारवाहीमा परिने डरले इन्फिनिटीको अवैध धन्दा बाहिर ल्याउन नसकेको पीडितहरूको भनाइ छ । 

इन्फिनिटीले विभिन्न मुलुकका गोल्ड एन्ड डायमन्ड, रियल इस्टेट, शिक्षा, पर्यटन, रिटेल, स्वास्थ्य र फेसन सम्बन्धी कम्पनीमा लगानी गरेर व्यवसाय गर्दै आएको पाइएको छ । 

इन्फिनिटिका ग्लोबल ट्रेडर्सका मुख्य सञ्चालक नेपाली नागरिक राकेश पन्त र भारतीय नागरिक दीपक भास्कर रहेका छन् साथै कम्पनीको सदस्य बनाउन इन्दिरा शाह, सुस्मिता, सूर्य खरेल र राजन खतिवडाले सहयोग गरिरहेको पाइएको छ । राजन खतिवडा गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष समेत रहेका छन् । 

पीडितका अनुसार इन्फिनीटी व्यवसायको विरोध गर्ने र रकम फिर्ता माग्ने लगानीकर्ताहरूलाई खतिवडाले ह्वाट्सएपबाट भ्वाइस म्यासेज गर्दै धम्क्याउँने गरेका छन् । 

सञ्चालक पन्तले लगानीकर्ताहरूबाट ठगेको रकम रेस्टुरेन्ट देखि डिजिटल करेन्सी सम्ममा लगानी गरेको पाइएको छ । पन्तले युएईमा ओरन्टो भेराइटी नामक रेस्टुरेन्ट र ओरन्टो ट्राभल सञ्चालन गरेको बताइएको छ । 

साथै पन्तले मोरङको विराटनगरमा स्यानिटरी प्याड, वेवी प्याड उत्पादन गर्ने ओरन्टो मल्टी ट्रेडर्स कम्पनी सञ्चालन गरेको समेत पाइएको छ । 

एससीटी (माइक्लब ट्रेडर्स)को नाममा सञ्चालित कम्पनीको नाम परिवर्तन गरी इन्फिनिटी नाम राखिएको हो । यो कम्पनीको सदस्य बन्नका लागि पासपोर्ट, इ आइडी कार्ड, आधार कार्ड, मेल आइडी र फोननम्बर अनिवार्य चाहिने लगानीकर्ताहरू बताउँछन् । 

उनीहरूका अनुसार लगानीको रकम प्रतिदिन शून्य दशमलव पाँच देखि एक दशमलब पाँच प्रतिशत फिर्ता आउने र एक सदस्यले अर्को सदस्यलाई प्रवेश गराए १० प्रतिशत बोनस पाउने भन्दै इन्फिनिटीले आश्वासन देखाएको थियो । 

बस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन २०७४ तथा नियमावली २०७६ ले नेटवर्किङ शैलीको व्यवसाय गर्न नपाउने व्यवस्था गरेको छ । 

त्यस्तै इजाजत नलिई बस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी व्यवसाय गर्न, बस्तुको खरिद बिक्री गरी वा नगरी सदस्य बनाई बिक्रेता वितरण मार्फत शुल्क मात्र लिनेगरी पिरामिडमा आधारित सञ्जालयुक्त व्यवसाय नेटवर्किङ गर्न नपाउने व्यवस्था रहेको छ ।  

यदि ऐन विपरीत कुनै पनि कम्पनीहरूले व्यवसाय गरे पाँच देखि दश लाख जरिवाना र तीन देखि पाँच वर्ष सम्म जेल सजाय हुने उल्लेख छ ।