बिर्तामोड / अनलाइन नेटवर्किङ व्यवसायका नाममा इन्फिनिटी कम्पनीले  दुबईमा रहेका पच्चीस सय नेपालीहरूलाई  ठगी गरेको पाइएको छ । 

थोरै लगानी र छोटो समयमै राम्रो आम्दानी गर्न सकिने साथै अरुलाई पनि जोडे कमिसन पाउने प्रलोभन देखाउँदै इन्फिनिटीले  पच्चीस सय नेपालीलाई ठगी गरेको पाइएको हो । 

OM Sai Pathibhara Hospital

नेपाल, भारत र दुवइमा गरी ७० हजार भन्दा धेरै सदस्य रहेको इन्फिनिटीको कार्यलय भने थाइल्यान्ड र दुवइमा रहेको बताइएको छ ।

यसले विभिन्न मुलुकका गोल्ड एन्ड डायमन्ड, रियल इस्टेट, शिक्षा, पर्यटन, रिटेल, स्वास्थ्य र फेसन सम्बन्धी कम्पनीमा लगानी गरेर व्यवसाय गर्दै आएको पाइएको छ । 

एससीटी (माइक्लब ट्रेडर्स)को नाममा सञ्चालित कम्पनीकाे नाम परिवर्तन गरी इन्फिनिटी नाम राखिएको हो । यो कम्पनीको सदस्य बन्नका लागि पासपोर्ट, इ आइडीकार्ड, आधार कार्ड, मेल आइडी र फोननम्बर अनिवार्य चाहिने लगानीकर्ताहरू बताउँछन् । 

उनीहरूका अनुसार लगानीको रकम प्रतिदिन शून्य दशमलव पाँच देखि एक दशमलब पाँच प्रतिशत फिर्ता आउने र एक सदस्यले अर्को सदस्यलाई प्रवेश गराए १० प्रतिशत बोनस पाउने भन्दै इन्फिनिटीले आश्वासन देखाएको थियो । 

इन्फिनिटिका ग्लोबल ट्रेडर्सका मुख्य डिजाइनर नेपाली नागरिक राकेश पन्त र भारतीय नागरिक दीपक भास्कर रहेका छन् साथै कम्पनीको सदस्य बनाउन इन्दिरा शाह, सुस्मिता , सूर्य खरेल र राजन खतिवडाले सहयोग गरिरहेको पाइएको छ । राजन खतिवडा गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष समेत रहेका छन् । 

बस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन २०७४ तथा नियमावली २०७६ ले नेटवर्किङ शैलीको व्यवसाय गर्न नपाउने व्यवस्था गरेको छ । 

त्यस्तै इजाजत नलिई बस्तुको प्रत्यक्ष बिक्री वितरणसम्बन्धी व्यवसाय गर्न, बस्तुको खरिद बिक्री गरी वा नगरी सदस्य बनाई बिक्रेता वितरण मार्फत शुल्क मात्र लिनेगरी पिरामिडमा आधारित सञ्जालयुक्त व्यवसाय नेटवर्किङ गर्न नपाउने व्यवस्था रहेको छ ।  

यदि ऐन विपरीत कुनै पनि कम्पनीहरूले व्यवसाय गरे पाँच देखि दश लाख जरिवाना र तीन देखि पाँच वर्ष सम्म जेल सजाय हुने उल्लेख छ । नेटवर्किङ व्यवसायलाई नेपालको कानुनले अवैध माने पनि यसको धन्दा मौलाइ रहेको छ । 

नेपालमा हाइपर फण्ड ग्लोबल, जोसियल, सिआरयु, विन्टर, क्राउड वन, सोलम्याक्स, पोइन्ट विसलगायत कम्पनीहरूले नेटवर्किङको ठगी धन्दा चलाइरहेका छन् ।