काठमाडौं / मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज किराँत समुदायले उधौली पर्व मनाउँदै छन् ।

३ दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किरात समुदायका राई, लिम्बू, सुनार र याक्खा जातिले संयुक्त रुपमा उधौली पर्व मनाउने गर्छन् ।

OM Sai Pathibhara Hospital

किरात समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो । 

नयाँ अन्न (धान, कोदो, अदुवा आदि) पितृलाई चढाएर घर–घरमा पूजा गरिन्छ । त्यसैगरी सामूहिक थानहरूमा भूमिको पूजा गर्दै प्रकृतिप्रति आभार प्रकट गर्ने काम नै उधौली पूजा हो । 

हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी बेसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ ।

उभौलीमा खेतीपाती लगाउने बेला भएकाले खेतीपाती राम्रोहोस् भनी पूजा गर्ने र उँधौलीमा खेतीपाती राम्रो भएकोमा प्रकृति , भूमि , कीरा फट्याङ्ग्रा , चराचुरुङ्गीलाई धन्यवाद दिने र पितृको सम्मान गर्ने पर्वको रुपमा मनाउने गरिन्छ ।

यो संस्कृतिको विशेषता भनेकै सामूहिक भेला भएर नाच प्रदर्शन गर्नु हो । लिम्बूले च्याब्रुङ बजाएर केलाङ, राईले साकेला,  सुनुवारले श्याँदर सिल र याक्खाले केलाक्मा नाच्ने गर्दछन् । 

हात, गोडा, शरीरको हाउभाउ अभिनय गरेर नाचिने नाच अर्थपूर्ण रहेको संस्कृतिविद् तीर्थराज मुकारुङ राई बताउँछन् । ‘साकेला, साकेवा जे भनौँ यो हाम्रा पितापुर्खाले सुरु गरेको प्रकृति र पुर्खालाई मुन्दुम विधिअनुसार मानमनितो गर्ने महत्त्वपूर्ण र अर्थपूर्ण चाड हो,’ उनले भने ।

खोरिया फाँड्ने, कोदालोले भस्मे खन्ने, अन्नको बिउ छर्ने, माटोले छोप्ने त्यसपछि बिउ उम्रिन्छ । अब गोडमेल गर्ने र पाकेपछि त्यसलाई पितृलाई चढाएर आशीर्वाद माग्ने जस्ता कृषि युगको अभिनय गर्ने गरिन्छ ।