एजेन्सी / न्युजिल्याण्डले बिस्तारै आफ्नो मुलुकमा सुर्तीजन्य पदार्थ न्यूनीकरण गर्ने कार्यनीति  अपनाएको  छ । तम्बाकूजन्य पदार्थसम्बन्धी कानून नै बनाएर त्यसको न्यूनीकरणमा जोड दिएको छ ।

न्युजिल्याण्डमा अब २००८ पछि जन्मिएका कसैले पनि आजीवन चुरोट या तम्बाकूजन्य उत्पादन खरिद गर्न नपाउने कानून बनेको छ । यो कानुन अर्को वर्षदेखि नै कार्यान्वयन हुने बताइएको छ ।

OM Sai Pathibhara Hospital

अर्को पीँढीदेखि सुरु गरेर न्युजिल्यान्डले बिस्तारै देशमा धूम्रपान पूर्ण रुपमा निर्मूल पार्ने लक्ष्य राखेको छ ।

स्वास्थ्य मन्त्री डाक्टर आयेशा भेरलले भनिन्, “हामी अबका युवाहरूले कहिल्यै पनि चुरोट पिउन सुरु नगरून् भन्ने सुनिश्चित गर्न चाहन्छौँ । ”

धुम्रपान माथि कडाइ सुरु गर्ने नीति अन्र्तगत न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले बिहीबार यस्तो घोषणा गरेको हो । यो नयाँ नियमसँगै सरकारले तम्बाकु कहाँ बिक्री गर्न पाउने जस्ता अन्य कानुन पनि लागू हुने बताएको छ । सुपरमार्केट र कुनाका स्टोरहरुबाट यसलाई हटाउने योजना रहेको छ । त्यसैले अब चुरोट बिक्री गर्न पाउने स्टोरहरुको सङ्ख्या ८ हजाबाट घटाएर ५०० मा झारिएको छ ।

डाक्टर र अन्य स्वास्थ्यविज्ञले पनि यो नयाँ अभियानको पूर्ण स्वागत गरेका छन् । यसलाई विश्वस्तरीय सुधारका रुपमा लिन सकिने बताइएको छ । यसले तम्बाकूको पहुँच घटाइदिनुका साथै चुरोटमा निकोटिनको स्तरमा पनि कडाइ गराउनेछ ।

युनिभर्सिटी अफ ओतागोकी प्रोफेसर ज्यानेट हुक भन्छिन्, “यसले मानिसहरूलाई या त धूम्रपान छाड्न या त्यो भन्दा कम हानिकारक उत्पादनको विकल्प लिन बाध्य बनाउनेछ । त्यसैले युवाहरूमा पनि निकोटिनप्रतिको लत कम हुनेछ ।”

यसरी न्युजिल्यान्ड देशव्यापी रुपमा २०२५ सम्म धुम्रपानको दर ५ प्रतिशतले घटाउने लक्ष्यमा समर्पित भएर लागिरहेको छ । र बिस्तारै यसलाई बढाउँदै देशलाई पूर्ण रुपमा धुमपानमुक्त पार्ने बताएको छ ।

हाल न्युजिल्यान्डका करिब १३ प्रतिशत वयश्कहरुले धूम्रपान गर्छन् । यो भनेको एक दशक अगाडिको १८ प्रतिशत भन्दा धेरै कम हो ।

धुम्रपानले चारमध्ये एकजनामा क्यान्सर हुने र ५० लाख बढीको ज्यान लिने गरेकाले पनि लामो समयदेखि न्युजिल्यान्डमा सरकारले तम्बाकु उद्योगलाई निशाना बनाइरहेको देखिन्छ ।