बिर्तामोड / गत आर्थिक वर्ष २०७७/०७८ मा एक हजार २ सय ४२ जना नेपालीले रोजगारीका क्रममा विदेशी भूमिमा ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक हजार दुई सय १३ पुरुष र २९ महिला रहेका छन् । 

वैदेशिक रोजगार बोर्डका अनुसार रोजगार गन्तव्य मुलुकमध्ये सबैभन्दा बढी नेपालीको मृत्यु साउदी अरेबियामा भएको छ । बोर्डकाे तथ्याङ्क अनुसार साउदी गएका २ महिला र ३ सय ६० पुरुष गरी कूल ३ सय ६२ जानको मृत्यु भएको छ । 

OM Sai Pathibhara Hospital

साउदी पछि रोजगारीमा गएर ज्यान गुमाउने नेपालीको संख्या मलेसियामा धेरै रहेको छ । मलेसियामा १  महिलासहित २ सय ८० नेपालीको मृत्यु भएको तथ्यांक छ ।

त्यस्तै कतारमा ३९ जना, युएईमा २०८, कुवेतमा ५५, बहराइनमा ३१, जापानमा ९, ओमानमा ७, जोर्डनमा ६ र मकाउ, रोमानिया, टर्कीमा ३–३, अफगानिस्तान, अल्जेरिया, चीन, साइप्रस र सेसेल्समा २–२ जना नेपालीले ज्यान गुमाएका छन् भने युगान्डा, सिंगापुर, पोर्चुगल, पोल्यान्ड, माल्दिभ्स, लेबनान, इजराय र ब्रुनाईमा १–१ जनाको मृत्यु भएको बोर्डले जनाएको छ ।

रोजगारीका लागि विदेश गएर ज्यान गुमाउनेहरूमा सबैभन्दा बढी मोरङ जिल्लाका रहेका छन् । मोरङबाट विदेश गएका ५८ जनाले ज्यान गुमाएका छन् भने धनुषा र सिराहाका ५७–५७ जनाको मृत्यु भएको छ ।

त्यस्तै महोत्तरीका ५५, झापाका ५३ , स्याङ्जाका ४६, सप्तरी र सुनसरीका ४४–४४, नवलपरासी (बर्दघाट सुस्तापूर्व) ४०, चितवनका ३६, दाङ र कास्कीका ३३–३३, गोरखाका र तनहुँका २९–२९, मकवानपुरका २०, पाँचथर र पाल्पाका २३ जनाको मृत्यु भएको छ ।

वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठले गत वर्ष मृत्यु भएकाहरूको शव कोरोना महामारीका कारण ल्याउन नसकेर परिवारको सहमतिमा विदशेमै दाहसंस्कार गरिएको बताए । उनीहरु सबैको अस्तु ल्याएर परिवारलाई दिएको उनले बताए ।

सचिवालयको तथ्याङ्कअनुसार, गत वर्ष विदेशमा विभिन्न रोगका कारण ४२७ जना नेपाली श्रमिकको मृत्यु भयो । गत वर्ष १४० जना श्रमिकले आत्महत्या गरेको वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्यांकमा उल्लेख छ । 

विदेशमा मृत्यु भएका १२ सय ४३ जनाका परिवारलाई बोर्डले ७३ करोड ७७ लाख १५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको जनाएको छ भने अंगभंग, गम्भीर बिरामी भएर फर्किएका १ सय ४३ जना कामदारलाई ७ करोड ३३ लाख २ हजार २ सय रुपैयाँ आर्थिक सहायता प्रदान गरेको बोर्डको तथ्यांकमा उल्लेख छ ।