बिर्तामोड / नेपालमा अवैध कारोबार गरी सर्वसाधारण ठग्दै आएका नेटवर्किङ कम्पनीको धन्दा जोगाउन पूर्व प्रदेश प्रमुख बाबुराम कुँवर र नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशी सहितको समुह सकृय रहेको पाइएको छ ।
प्रहरीले वर्षौ देखि नेटवर्किङ कारोबार विरुद्ध अप्रेसन चलाईरहे पनि यो धन्दा थप मौलाउनुमा प्रहरीकै उच्च अधिकारीको संरक्षण रहेको समेत आरोप लाग्ने गरेको छ । विगतमा उच्च सरकारी ओहोदामा बसेका नै यो धन्दामा संलग्न रहेको खुलेपछि उनीहरूमाथि सुरु भएको कारवाही पनि असफल हुने सम्भावना वढेर गएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले कारवाही सुरु गरेपछि प्रहरीकै पूर्व उच्च अधिकारी र सरकारकै उच्च ओहोदामा बसेकाहरु यो धन्दामा संलग्न रहेको खुल्न थालेको हो । विभागले केही दिन अघि अवैध कारोबारमा संलग्न चार नेटवर्किङ कम्पनीमाथि छापामारी अनुशन्धान थालेपछि सो कुराको खुलासा भएको हो ।
अनुसन्धानमा संलग्न अधिकारीले विभागले कागजात जफत गरेको नेचर हब्स नामको नेटवर्किङ कम्पनीमा पूर्वडिआइजी छवि जोशी र गण्डकी प्रदेशका पूर्व प्रमुख एवं न्यायाधिवक्ता बाबुराम कुँवर रहेको खुलेको हो ।
नेचर हब्समा पछिल्लो समय ठुलो प्रचार अनि तामझाम सहित चर्चित पत्रकार रवि लामिछानेलाई व्यवसायीका साझेदार बनाउँदै सुरु भएको ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेको खुलेको छ । आफूलाई गीतेन्द्रबाबु राई र जीबी राई भनेर चिनाउने गीतेन्द्र बहादुर राई र जोशी हालै स्थापना भएको ठूलो लगानीको भनिएको ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत हुन् ।
ग्यालेक्सी टेलिभिजन र नेचर हब्सका सञ्चालक समेत रहेका जोशी अवैध कारोबारमा संलग्न नेटवर्किङ कम्पनीका संचालकले बनाएको डाइरेक्ट सेलिङ एसोसियसन नेपाल नामको सङ्गठनका केन्द्रिय अध्यक्ष समेत हुन् ।
खाडी मुलु्कमा गएका नेपालीलाई सदस्य बनाएर ठगी गर्ने गरेको नेचर हब्सका सञ्चालकमा राई र जोशी सँगै अनन्त बाबु राई , निशा राई, नेत्रपाणि बाँस्तोला, कुमार रम्तेल र माधव खनाल लगायत रहेका छन् । नेचर हब्सको अवैध धन्दा सार्वजनिक भएपछि राईले र जोशीले केहि दिन अघि आफ्नो नाममा रहेको सबै सेयर अन्यको नाममा सारेका छन् ।
डाइरेक्ट सेलिङ ( वस्तुको प्रत्यक्ष बिक्री वितरण )का नाममा इजाजत लिएका कम्पनीले अवैध नेटवर्किङ धन्दा चलाएको पाईएपछि प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले गत साउन १६ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई थप ईजाजत नदिन निर्देशन दिएको थियो ।
सांसद सोमप्रसाद पाण्डेयको संयोजकत्वमा गठित अध्ययन उपसमितिले दिएको सुझावअनुसार समितिले मन्त्रालय र विभागलाई १८ बुँदे सुझाव दिंदै इजाजत रोक्न निर्देशन दिएको थियो ।संसदिय समितिले इजाजत पाएका कम्पनीलाई तिनको कारोबार रोक्का गर्न निर्देशन नदिएकाले ति कम्पनीले खुलेहाम अवैध कारोबार संचालन गरिरहेका छन् ।
तर विभागले संसदीय समितिको निर्देशन विपरीत वस्तुको प्रत्यक्ष बिक्री–वितरणका नाममा थप दुईवटा नेटवर्किङ कारोबार गर्ने कम्पनीलाई इजाजत दिएको पाइएको छ । नेटवर्किङ कारोबारमा संलग्नमाथि विभागले कारवाही थालेकै समयमा थप दुई कम्पनी केयर नेसन इन्टरनेसनल र अपि लाइफ प्राइभेट लिमिटेडलाई भने विभागबाटै इजाजत दिईएको पाइएको हो ।
नयाँ इजाजत पाएको केयर नेसनलका संस्थापक राजु गौतम र विनिता गुरुङ रहेका छन् । दुवै जना युनिटी ठगी प्रकरणमा संलग्न हुन् ।
इजाजत पाएको अर्को कम्पनी अपि लाइफ प्राइभेड लिमिटेडका सञ्चालक अर्घाखाँचीका नेपाली कांग्रेसका नेता रामबहादुर बिसी र म्याग्दीका ओम पुन रहेको विभाग स्रोतले जानकारी गराएको छ ।