काठमाडौँ  / चर्चित पत्रकार रवि लामिछाने व्यवसायीक साझेदार रहेको ग्यालेक्सी फोरके टेलिभिजन ठगी र करछलीको घटनामा मुछिएको छ । टेलीभिजनका संचालक गितेन्द्रबाबु राईको कम्पनीले हजारौं सर्वसाधारणलाई ठगेको र कर छली गरेको सार्वजनिक भएको हो ।

नेपालमा गैरकानुनी मानिएको नेटवर्किङ धन्दा चलाएर सर्वसाधारणलाई ठगेको र राईको कम्पनीले चर्को मूल्य लिएर अकुत कमाउने क्रममा कर समेत छलेको पाइएपछि सरकारले कारवाही अघि बढाएको छ । राई मुख्य सञ्चालक रहेको नेचर हब्सले गैरकानुनी कारोबार गर्ने गरेको र ठगी गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छापा मारेर कागजात जफत गरेको छ ।

बस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ व्यवसाय गरी सर्वसाधारणलाई ठग्दै आएको पाइएपछि विभागले नेचर हब्स सहित अन्य तिन कम्पनीका कार्यालयमा छापा मारी कागजात जफत गरेको छ  । ग्यालेक्सीका सञ्चालक राईको ठगी र अवैध कारोबारको विषय सार्वजनिक भएपछि केही दिन अघि उनले आफ्नो नाममा भएको सेयर आफ्ना व्यवसायीक साझेदार कुमार रम्तेलका नाममा सारेको समेत खुलेको छ ।

अवैध कारोबार र ठगीमा संलग्न राई र रम्तेल नेपाल र प्रवासमा रहेका लाखौं नेपालीलाई ठगेको घटनामा संलग्न कम्पनी हर्बोका सञ्चालक समेत हुन् । राई अध्यक्ष रहेको नेचर हब्सको ९० हजार कित्ता सेयर उनले रम्तेलका नाममा सारेका छन् । राई र रम्तेलले वर्षौ देखि सँगै सर्वसाधारणलाई व्यापार र मुनाफाका नाममा नेटवर्किङ व्यापारमा लगाएर ठगी गर्दै आएका छन् ।

उपभोक्ता हित संरक्षण विभागले २०७७ असार १७ गते नेचर हब्स सहितका कम्पनी तथा फर्मलाई अनुमति दिएको थियो । बस्तुको प्रत्यक्ष बिक्रीको अनुमति पाएपनि उनीहरूले अवैध नेटवर्किङ व्यवसाय गरेर सर्वसाधारणलाई ठगी गर्दै आएका थिए ।

ग्यालेक्सीका मालिक राईको नेचर हबको १० हजार कित्ता शेयर भने पूर्व डिआइजी छविलाल जोशीको नाममा रहेको थियो । उनी समेत ग्यालेक्सीका लगानीकर्ता भएको बताइन्छ । उनले पनि आफ्नो नाममा भएको सेयर कारवाहीमा परिने भयले राम बहादुर खनालको नाममा सारेका छन् । जोशी काठमाडौं प्रहरी प्रमुख हुँदा नै राई र रम्तेलको कम्पनी हर्बोको ठगीधन्दा मौलाएको थियो ।

नेचर हब्स सहित विभागले गत साउनमै चार कम्पनी नेचर हब्स , न्यु विवेक इन्टरप्राइजेज प्रा.ली, हेल्दी लिभिङ नेपाल प्रा.ली र ग्लोबल ओरियन्स प्रा.लीलाई स्पष्टिकरण सोधेको थियो । तत्कालीन सरकार र उच्च राजनीतिक संरक्षणका कारण नेचर हब्स सहितका कम्पनीमाथि कारवाही गर्न विभागले सकेको थिएन ।

विभागको टोलीले छामा मारी कागजात जफत गरेर कारवाही प्रकृया अघि बढाएपछि यि कम्पनीमा आवद्ध रहेको नेपाल सहित प्रवासमा रहेका लाखौं नेपालीबाट सदस्य शुल्कका नाममा उठाएको करोडौँ रुपैयाँ संकटमा परेको छ । सदस्य बनाएर ति कम्पनीले देश विदेशमा रहेका नेपालीबाट करोडौँ रुपैयाँ उठाएको अनुमान गरिएको छ ।

नेचर हब्सका सञ्चालक राई र जोशीले त्यसरी ठगी गरी कमाएको पैसा नै ग्यालेक्सीमा लगानी गरेको आरोप लाग्दै आएको छ । ग्यालेक्सीका संचालकहरु माथि नै ठगीको अभियोगमा अनुशन्धान र कारवाही सुरु भएपछि सो टेलिभिजनको लगानीको स्रोतमाथि पनि शंका उब्जीएको छ ।

नेटवर्किङ व्यवसायको नाममा स्रोत नखुलेको अवैध पैसा ल्याएर टेलिभिजनमा लगानी गरेको आरोप लाग्न थालेको छ । प्रभावशाली र चर्चित पत्रकारलाई केहिलाई व्यवसायीक साझेदार त केहिलाई कर्मचारीका रुपमा भित्राएर संचारमाध्यमको आवरणमा राई नेतृत्वको गिरोहले अवैध धन्दा गरिरहेको ग्यालेक्सीमाथि आरोप लागेको हो ।

ग्यालेक्सीका सञ्चालक राई र जोशीले मलेशिया, सिंगापुर, कतार, भारत र  हङकङसहित ८ वटा मुलुकमा अवैध रुपमा नेटवर्किङ व्यवसाय चलाउँदै आएको विभागकै अधिकारीले जानकारी गराएका छन् ।

विभागले थप पाँच कम्पनीको पनि अनुसन्धान गर्ने जनाएको छ । हाइपर फन्ड ग्लोबल, जोसियल, सिआरयू, विन्टर, क्राउड वान, सोलम्याक्स र पोइन्टलगायत विदेशी तथा स्वदेशी कम्पनीले नेपालमा अवैध नेटवर्किङ धन्दा चलाउँदै आएका छन्  ।

विगतमा लाखौं सर्वसाधरणलाई ठगी गरेको आरोप लागेका नै अहिले फेरि नयाँ नाममा उस्तै काम गरिरहेको विषयमा विभाग सहितका सरकारी निकाय समेत जानकार नै रहेका छन् । विभागले डाइरेक्ट सेलिङ व्यापारका नाममा २०७७ असार १६ गने देखि इजाजत दिन थालेको थियो ।

तर गत भदौमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले अवैध नेटवर्किङ धन्दा चलाउन थालेको भन्दै सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा छानबिन समिति नै गठन गरेको थियो ।