पुरन भट्टराई

नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाउने पर्व हो । यस दिनमा हामी नागको पूजा गर्ने गर्दछौ । नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो। यस दिनमा नागको साथै नाग धारण गर्ने भगवान भोलेनाथको पूजा आराधना पनि गरिन्छ।

OM Sai Pathibhara Hospital

नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो सेतो अक्षता राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्टनागको चित्र टाँस्ने गरिन्छ । यस दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू भएको पनि मान्ने जन मान्यता रहेको छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्खनाग गरी अष्टनागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक शास्त्र हरुमा लिखित छ ।

(बिद्युत अग्नि भयं नास्ती लिखीतं गृह मण्डले)

 ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ।

 नाग देवताको शिर भाद्र ,असोज ,कार्तिक महिना मा पुर्व हुन्छ। मंसिर ,पौष ,माघमा दक्षिण हुन्छ। फाल्गुण ,चैत्र,बैसाखमा पश्चिम हुन्छ र जेठ , असार ,श्रावणमा उत्तर दिशामा हुन्छ।

  नाग पन्चमी वर्षायाममा पर्ने भएकाले सर्प, बिच्छी आदी बिषालु जनावरहरूको प्रकोप हुनु स्वभाविकै हो ।सर्पहरूलाई दुध पच्दैन  (पाचन प्रक्रियामा समस्या आई मृत्युसम्म हुन सक्ने) भन्ने कुरा पनि छ र घरको ढोकामा नाग टास्दा हामी  दुध चडाउछौ, त्यसैले सर्प दुधको गन्धको कारण ढोकाबाट प्रबेश गर्दैन भन्ने उक्ति रहेको  छ ।  यस कारण नागपञ्चमीका दिन नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मानिन्दै आएको छ।

वायुबाट, पृथ्वीबाट, जलबाट र अग्निबाट निस्केको विष सर्प जातिहरुले पान गर्ने र सूर्यबाट, आकाशबाट निस्केका विषअर्थात् भाइरस (जिवाणु) नागले पान गरेर यो संसारका प्राणीहरुलाई अमृतको भागीदार बनाई दिएको हुँदा, कृतज्ञता स्वरुप सनातन धर्मले नाग जातिको पूजा अर्चना गर्दै आएको हो ।

नमोस्तुः सर्पभ्यः भनेर वेदमा पनि भनिएको छ । अरु अघिका महामानवहरुका जीवन पढ्दा र हेर्दा पनि लामो आयुसँग नाग तथा सर्प जातिको सम्बन्ध जोडिएको पाइन्छ । जस्तो भगवान शिवले गलामा धारण गर्नु, भगवान विष्णुले सयन स्थान बनाउनु, गणेशजीले जनैको रुपमा धारण गर्नु आदि धेरै–धेरै छन् । यही भएर पनि नाग तथा सर्प जाति अनि पञ्चमी तिथि विज्ञान र धर्म दुबैतर्फबाट स्वीकारोक्त छ ।

शास्त्रमा लिखित पौराणिक कथा  अनुसार  राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागकै भानिज आस्तिक , जरत्कारु र मनसादेवी सुपुत्रले अनुरोध गरेपछि सर्पयज्ञ रोकियो र सम्पूर्ण नागहरुको उद्धार भएको दिन पनि श्रावण शुक्ल पञ्चमीको दिन भएकाले यो दिनदेखि नै नागपञ्चमी पर्व मनाउन थालिएको प्रसङ्ग रहेको छ।