बिर्तामोड / झापामा कोरोना संक्रमण दर वृद्धि भएसँगै थप एक साता
लकडाउन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको डीसीसीएमसी र पालिका प्रमुखहरूको
संयुक्त बैठकले आगामी शनिबार ( १६ गते ) राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय
गरेको हो ।
बैठकले कोभिडको तेस्रो लहर देखा परेको र यसको नियन्त्रणका लागि
स्थानीय पालिकालाई आइसोलेसन सेन्टर र होम आइसोलेसन सेन्टर तयारी अवस्थामा राख्न
समेत निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा भएको
बैठकले जिल्लामा खोप कार्यक्रमलाई प्रभावकारी बनाउनुका साथै स्वास्थ्य
मन्त्रालयसँग थप खोप माग गर्ने निर्णय समेत गरेको छ ।
सरकारले तोकेको लक्ष्यभन्दा भन्दा धेरै जनसंख्या भएकाले साउन १८ गतेबाट
लक्षित उमेर समूह तोकेर जिल्लाभर खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत बैठकले
गरेको छ ।
मेची प्रादेशिक अस्पतालमा जडान भइरहेको अक्सिजन प्लान्ट तत्काल
सञ्चालन गर्ने तथा जिल्लाका ठूला निजी अस्पतालहरूलाई समेत अक्सिजन प्लान्ट जडान
गर्न आग्रह गर्ने निर्णय गरेको छ ।