भद्रपुर / भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठमाथि जनप्रतिनिधि र कांग्रेस कार्यकर्ताले अश्लील शब्द प्रयोग गरी दुब्र्यवहार गरेका छन् । ५ नम्बर वडा कार्यालयको खोप केन्द्रमा सरकारले तोकेका उमेर समूहबाहेक नागरिकलाई खोप लगाएको सूचना पाएपछि मेयर श्रेष्ठ बुधवार त्यहाँ पुगेका थिए । 

५५ वर्षदेखि माथिका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्नेमा त्यसभन्दा कम उमेर समूहका नागरिकले खोप लगाएको भेटाएपछि मेयर श्रेष्ठले ‘यस्तो कार्य बन्द गर्नुहोस’ भनेका थिए । मेयरको अवरोधपछि वडा कार्यालयमा ‘बबाल’ भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूको भनाइ छ । मेयर श्रेष्ठले भने, ‘खोप केन्द्र पुग्दा ५ नम्बरकी महिला वडासदस्य रीता दाहालकी छोरी खोप लगाएर बाहिर निस्किरहेकी थिइन्, केन्द्र बाहिर ५५ वर्षका नागरिकहरू खोप लगाउने प्रतीक्षामा लाइनमा थिए, त्यही विषयमा बोल्न खोज्दा ममाथि जनप्रतिनिधि र कांग्रेस कार्यकर्ताहरू खनिए ।’

OM Sai Pathibhara Hospital

‘मैले नियमन गर्न खोज्दा म माथि झन्डै वडा कार्यालयभित्रै हातपात गर्न खोजियो,’ उनले भने, ‘त्यहाँ भेला भएको भिडले अश्लील शब्द प्रयोग गर्दै तथानाम गालीगलौज ग¥यो, तर मैले प्रतिकार गरिनँ, उनीहरूको कुरा मात्र सुनेर फर्किएँ।’ 

‘खोप केन्द्रमा त्यस्तो घटना हुनु र तोकिएको समय सकिएको थियो, अनि खोप वितरण कार्य बन्द ग¥यौं,’ उनले थपे, ‘यस्तो महामारीमा खोप लगाउने पाउने सबै नागरिकको अधिकार छ, तर सरकारले तोकेको नियम त खोप केन्द्रमा खटिएका जनप्रतिनिधि स्वयंले पालना गरिदिनुप¥यो,’ उनले भने, ‘५ नम्बर वडा कार्यालय मात्र यस्तो बेथिति देखिएन, अरू वडा पनि त्यस्तै देखियो।’

स्वास्थ्य कार्यालय ५५ वर्षमाथिका उमेर समूहको तथ्यांक हेरेर भेरोसेल खोप पालिकाहरूलाई वितरण गरेको छ । ‘कम उमेर समूहका नागरिकलाई खोप लगाइन्छ, भोलि ५५ वर्षमाथि र सरकारले तोकेका अन्य नागरिकलाई नगरपालिकाले कहाँबाट खोप ल्याएर लगाइदिनु ?’ खोपमा राजनीतिकरण नगर्न उनले सबैलाई आग्रहसमेत गरेका छन् ।  यता ५ नम्बर वडाध्यक्ष बन्धु कार्कीले नगरपालिका मेयर श्रेष्ठले नियोजित रुपमा आफ्नो केन्द्रमा आएर समस्या उत्पन्न गर्न खोज्दा यस्तो घटना भएको स्विकारेका छन् ।

‘मेयरले आफ्नो परिवारलाई खोप लगाउँदा हुने, खोपको अधिकार सबैलाई छ, केही कम उमेर समूहका नागरिकले खोप लगाए होलान्, त्यसमा किन समस्या खडा गर्नू?,’ वडाध्यक्ष कार्कीले जनप्रतिनिधिका छोरा छोरीलाई खोप लगाएको स्विकार गर्दै भने, ‘नगरप्रमुख भएपछि सबै वडा कार्यालयलाई समान रुपमा हेर्नुपर्छ, तर त्यस्तो देखिएन, जसले गर्दा विवाद भयो।’ वडा सदस्यकी छोरीले खोप लगाएको विषयमा जिज्ञासा राख्दा उनले भने, ‘उनले खोप लगाएकी छन्, अनुरोध आएपछि लगाइदिएको हो ।’ 

सोही खोप केन्द्रमा मंगलबार बिहान पनि जनप्रतिनिधिबीच विवाद भएको थियो । खोप केन्द्रमा वडा नम्बर ५ का जनप्रतिनिधिहरूले कुपनको व्यवस्था गरेका थिए । ५ नम्बर वडाका जनप्रतिनिधिहरूले आफ्ना नजिकका मान्छेलाई मात्र कुपन दिएको प्रसङ्गमा ६ नम्बर वडा अध्यक्ष प्रेम बरुवाल र ५ नम्बर वडा सदस्य रीता दाहालबीच विवाद भएको थियो । 

५ नम्बर वडा कार्यालयले समन्वय नगरी एकलौटी ढंगले कुपन वितरण गरेको र खोप लगाउने पुगेका ६ नम्बरका नागरिकले कुपन नपाएपछि त्यस विषयमा बोल्न खोज्दा विवाद भएको वडाध्यक्ष बरुवालले बताए। उनले भने, ‘मलाई गालीगलौज गरे, हातपातको प्रयास भयो ।’ कुपन बाडेको विषयमा वडा अध्यक्ष कार्कीले भने, ‘खोप वितरण कार्यलाई सहज र सरल बनाउन कुपन बाँडिएको हो, त्यस विषयमा चित्त नबुझे ६ नम्बर वडाका वडाध्यक्षले मसँग छुट्टै छलफल गर्नुपथ्र्यो ।’

वडा कार्यालय भएको विवादपछि मेयर श्रेष्ठसँग गरेको कुराकानीमा उनले भने, ‘पायक पर्ने नगरका ५५ वर्षमाथिका सबै नागरिकले जुनसुकै केन्द्रमा गएर खोप लगाउन पाउँछन्, मेरो र तेरो खोप केन्द्र भन्न मिल्दैन।’ खोप केन्द्रमा कुपन बाँड्नु नै गलत कार्य भएको उनले बताए। 

मेची अस्पतालमा पनि उही

त्यस्तै मेची अस्पताल भद्रपुरको खोप केन्द्रमा पनि बेथिति देखिएको छ । त्यहाँ पनि कम उमेर समूहका नागरिकलाई खोप लगाइएको जनगुनासो आएको छ । अस्पतालमा ८ नम्बर वडा कार्यालयका जनप्रतिनिधिले कम उमेर समूहका नागरिकलाई खोप लगाएको भन्दै अहिले व्यापक आलोचना भइरहेको छ।

अस्पताल परिसरमा भेटिएका स्थानीय मनोज दाहालले अस्पतालमा ५५ वर्षमुनिका नागरिकले खोप लगाएको दाबी गरेका छन्। सरकारसँगै स्वास्थ्य कार्यालय सूचना जारी गरेको नागरिकभन्दा बाहिरका नागरिकले खोप लगाइएको उनको भनाइ छ ।

त्यस्तै नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईका अनुसार नगरपालिकालाई स्वास्थ्य कार्यालय झापाले ५५ वर्षमाथिका उमेर संख्या तोकेर ६ हजार १ सय ४३ भेरोसेल खोप पठाएको हो । नगरमा दुई दिनमा ५ हजार ९८ जनालाई खोप लगाइएको छ । बिहीबार अन्य सबै खोप केन्द्र बन्द गरी १० नम्बर वडा कार्यालयमा मात्र खोप लगाउने कार्यक्रम रहेको उनले बताए । 

खोप केन्द्र खारेज गर्ने मेयरको निर्णय एकैदिनमा उल्टियो 

मेची अस्पतालमा खोप दुरुपयोग भएको गुनासो आएपछि मेयर श्रेष्ठले त्यहाँको खोप केन्द्र हटाए । उनले त्यस केन्द्रमा पायक पर्ने समुहलाई वडा नम्बर १० को खोप केन्द्रमा गएर खोप लगाउन नगर स्वास्थ्य शाखाले सूचना जारी ग¥यो । सो सूचनाको तिब्र बिरोध भएपछि बिहीबार बिहान स्वास्थ्य शाखाले फेरी खोप केन्द्र कायम रहेको अर्काे सूचना सार्वजनिक गरेको छ । अहिले दुबै केन्द्रमा खोप लगाउने क्रम जारी रहेको स्थानीयले जानकारी दिएका छन् ।