नेपालगञ्ज / कोभिड–१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यानदिँदै
नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुना नाकामा
सुरक्षा सतर्कता अपनाइएको छ ।
भारतमा नयाँ डेल्टा
भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम
स्वदेश फर्किन थालेका हुन् । स्वदेश फर्किएका नेपालीका सीमामा स्वास्थ्य जाँच
थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग
शाहले जानकारी दिएका छन् । उनले भारतमा फैलिएको महामारी नेपालगञ्जमा भित्रिन सक्ने
अवस्थालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको बताएका छन् ।
नाकामा अहिले सीमावर्ती
शहर रुपैडिहामा किनमेलका लागि जाने र स्वदेश फर्किनेको भीड लाग्ने गरेको छ ।
दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको उच्च
जोखिम बढ्न सक्ने उनले बताएका छन् ।
भारतबाट आउने व्यक्ति
अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक रहेका छन् ।
जमुनाहनाका हुँदै भारतबाट अहिले दैनिकरूपमा ५०० देखि ६०० को हाराहारीमा मजदुर
नेपालगञ्ज भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब
निरीक्षक पूर्ण खत्रीले जानकारी दिएका छन् ।
उनका अनुसार दिल्ली, चण्डिगढ, गुजरात, मुम्बईजस्ता ठाउँमा काम गर्न पुगेका मजदुर अहिले फर्किरहेका
छन् भने नेपालतर्फबाट पनि मजदुर भारततर्फ फर्किएका छन् ।