लहान / सिरहामा आर्थिक वर्ष २०७७ /७८ मा एक हजार ९१३
नयाँ उद्योग दर्ता भएका छन् । नयाँ दर्ता भएका एक हजार ९१३ मध्ये सबैभन्दा बढी
कृषि तथा वन्यजन्यतर्फ एक हजार १२२, सेवा उद्योगतर्फ
६०५ र उत्पादन उद्योगतर्फ १८६ रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।
कृषि तथा वनजन्यतर्फ पशु, माछा तथा कृषि
उद्योग एक हजार १८, पशुपालनका ५४ तथा कुखुरा पालनका १७ नयाँ उद्योग दर्ता भएका छन् । सेवा
उद्योगतर्फ कुटानी पिसानीका ११५, होटेल ११०, निर्माणका ९४, मोटरसाइकल मर्मतका
४५ र ढुवानीका ३५ उद्योग दर्ता भएका छन् । यो सङ्ख्या गत आव २०७६ /७७ को भन्दा बढी
हो ।
आव ०७६ /७७ मा सेवा उद्योगतर्फ
५३०, कृषि तथा वन्यजन्यतर्फ ४९० र उत्पादन उद्योगतर्फ १२७ गरी एक हजार १४७ नयाँ
उद्योग दर्ता भएका थिए । योसँगै सिरहामा उत्पादन उद्योग एक हजार ६१२, कृषि तथा वनजन्य
उद्योग दुई हजार ७७० र सेवा उद्योग चार हजार २३८ गरी घरेलु तथा साना उद्योगको
सङ्ख्या आठ हजार ४७० पुगेको कार्यालयका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिएका
छन् । नयाँ उद्योग दर्ताबाट एक करोड ८६ लाख ६६ हजार ३०० राजश्व सङ्कलन भएको
जनाइएको छ ।
बैंक तथा वित्तीय संस्थाले घरेलु तथा साना उद्योगमा सहज
रुपले ऋण लगानी गर्न थालेकाले कृषि तथा वनजन्य उद्योग खुल्ने क्रम बढेसँगै उद्योग
दर्ता गराउनेको सङ्ख्या वृद्धि भएको प्रमुख यादवको भनाइ छ । यस्तै आव २०७७ /७८ मा उद्योगतर्फ
६४ र वाणिज्यतर्फ १५५ घरेलु तथा साना उद्योगको लगत कट्टा गरिएको जनाइएको छ ।