धनुषा / धनुषामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार कुटपिटबाट गम्भीर घाइते भएका धनुषाको सहिदनगर नगरपालिका-३ गोठकुहाका २१ वर्षीय गोविन्द यादवको उपचारको क्रममा मृत्यु भएको हो ।
गोविन्द मंगलबार बिहान साढे ६ बजे घर नजिकै ककर्लाको झाडीमा गम्भीर अवस्थामा फेला परेका थिए। उनलाई अज्ञात समूहले सोमबार राति कुटपिट गरी झाडीमा फालेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। गम्भीर घाइते भएका गोविन्दलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको थियो ।
तर‚ त्यहाँ उपचार सम्भव नभएपछि मोरङको विराटनगरस्थित न्यूरो अस्पतालमा रेफर गरिएको थियो। उनको सोहि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ।घटनामा संलग्न भएको शंकामा स्थानीय मुर्बल यादवसहित चारजनालाई नियन्त्रणमा लिएको र घटनाबारे अनुसान्धन भइरहेको इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरीक्षक संवित भण्डारीले बताए।