हेटौँडा / प्रदेश राजधानी हेटौँडास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा ५५ दशमलव ५४ प्रतिशत उजुरी फछ्र्योट गरेको छ । कार्यालयमा परेका विभिन्न प्रकारका ९२९ उजुरीमध्ये अनुसन्धान सम्पन्न गरेर ५१६ उजुरी फछ्र्योट गरेको भएको आयोगको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी बाराको ३०४ र सबैभन्दा कम भक्तपुरको एउटा मात्र उजुरी परेको थियो । यद्यपि काठमाडौँ, ललितपुर र भक्तपुरको उजुरी काठमाडौँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा धैरै सङ्ख्यामा पर्ने गरेकाले हेटौँडास्थित कार्यालयमा उक्त जिल्लाको उजुरीको सङ्ख्या निकै कम रहेको पाइन्छ ।
गत आवमा कोरोनाको असहज परिस्थितिलगायत कारणबाट परेका उजुरीमध्ये धेरैको फछ्र्योट गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । अख्तियारको हेटौँडास्थित कार्यालयमा परेका उजुरीको तथ्याङ्क हेर्दा उजुरीमध्ये सबैभन्दा धेरै स्थानीय तहका मात्र ५१८ उजुरी परेका छन् । तीमध्ये २६७ उजुरी फछ्र्योट भएको र बाँकी २५१ फछ्र्योट हुन बाँकी छ ।
त्यसैगरी गत आवमा सङ्घीय सरकारअन्तर्गतका कार्यालयको २३९ उजुरी परेका छन् । तीमध्ये १५३ उजुरी फछ्र्योट गरिएको छ भने ८६ वटा उजुरी फछ्र्योट हुन बाँकी छ । प्रदेशस्तरका मन्त्रालय र कार्यालयको १७२ उजुरी परेको छ । तीमध्ये ९६ उजुरी फछ्र्योट भइसकेको छ ।