जाजरकोट / अनेक पहुँच र विधि प्रयोग गरेर ठेक्का
लिने तर काम नगर्दा जाजरकोटको विद्युतीकरणमा समस्या देखिएको छ । ठेक्का लिनेमा
जनप्रतिनिधिदेखि पहुँचवाला राजनीतिक दलका व्यक्ति संलग्न हुँदा नेपाल विद्युत्
प्राधिकरणलाई आफ्नो प्रगतिको लक्ष्य चुम्न मुस्किल परेको छ ।
प्राधिकरणले ठेकेदारलाई छिटो लाइन विस्तारदेखि
पोल गाड्ने काम गर्न आग्रह गर्दा सुनेर पनि नसुनेझैँ गरी बसेको बताएको छ ।
जिल्लाको सातै वटा स्थानीय तहमा दुई वर्षभित्र विद्युतीकरण गर्ने लक्ष्य लिएर
थालिएको काम बीचमै ठेकेदारले काम नगर्दा ठूला योजना अलपत्र परेका छन् ।
ठेक्का सम्झौता भएको छ महिनाभित्र निर्माण पूरा
गर्ने भनिए पनि दुई वर्ष पूरा हुँदासम्म काम नहुँदा प्राधिकरणले ताकेता गर्दागर्दा
हैरान भएको बताउँदै आएको छ । काम अलपत्र पार्ने निर्माण व्यवसायीले लिएका काम
अहिलेसम्म जति भएको छ, ती सबै मापदण्डविपरीत भइरहेको पाइएको
कार्यालयले जनाएको छ । सामान्य कामसमेत मापदण्डभित्र नरहेको प्राधिकरणको गुनासो छ
। जाजरकोटी जनताको घरदैलोमा विद्युत् छिटोभन्दा छिटो पुर्याउने लक्ष्य निर्माण
व्यवसायीका कारण दिनदिनै पछाडि धकेलिँदै गएको छ ।
पश्चिम जाजरकोटको शिवालय र जुनिचाँदे
गाउँपालिकामा विद्युत् पुर्याउने उद्देश्यले आव २०७५/७६ मा खोलिएको ठेक्काको काम
निर्माण व्यवसायी शान्तबहादुर बस्नेतले अहिलेसम्म नगर्दा समस्या भएको छ । मनघाटबाट सुवानाउलीसम्म पोल र तार तान्ने कामको
ठेक्का लिएका थिए । ठेक्का पाएको छ महिनाभित्र काम पूरा गर्ने भनिए पनि दुई
वर्षसम्म आधा काम पनि भएको छैन । विद्युत् प्राधिकरणले धरौटी जफतका लागि बैंकलाई
पत्र लेखिसकेको जाजरकोट वितरण केन्द्रका प्रमुख विशाल लामिछानेले बताएका छन् ।
बस्नेतलाई सामग्री दिँदा पनि काम नगर्दा पश्चिम
जाजरकोटमा विद्युतीकरण गर्ने कार्य अलपत्र पर्दै आएको छ । सामग्री लिएको तीन
महिनाभित्र काम पूरा गर्नुपर्ने व्यवस्था रहेको प्रमुख लामिछाने बताउछन् ।
लामिछाने भन्छन्,“काम गर्छु भन्नुहुन्छ तर गर्नुहुन्न, छेडागाड
नगरपालिकाको थलहबजारसम्म पोल गाडेको छ तर त्यसभन्दा माथि काम नगरेर बीचमै अलपत्र
परेको अवस्था छ ।”
त्यस्तै जिल्ला समन्वय समितिका सदस्य तेजविक्रम
शाहले ( शाहीबाबा कन्स्ट्रक्शन) लिएको ठेक्काको काम पूरा नगर्दा पूर्वी जाजरकोटका
बारेकोट र कुशे गाउँपालिकामा बिजुली बाल्न नसकिएको हो । उनले कुशेको पाँचकाटियाबाट
कुशेसम्म जाने लाइन र नलगाड नगरपालिकाको कालिमटीबाट बारेकोट जाने लाइन निर्माणको
ठेक्का लिएका थिए । आव २०७५/७६ मा लिएको उक्त ठेक्का सम्झौतामा छ महिनाभित्र काम
पूरा गर्ने भनिएको थियो । काम गर्ने भन्दै ८०० भन्दा बढी पोलसमेत बुझिसकेका शाहले
काम बीचमै छाड्दा सबै लथालिङ्ग भएको प्राधिकरणले जानकारी दिएको छ ।
शाहले लिएका पोल नलगाड नगरपालिकाको
रघुनाथलगायतका ठाउँमा सडकको माटो मुनि, खोल्सा
मुनि र पहिराले पुरिएको अवस्थामा रहेका छन् । पटक–पटक
कामका लागि ताकेता गर्दा पनि अटेर गरेर बसेको प्रदेशसभा सदस्य गणेसप्रसाद सिंहले बताएका
छन् । पूर्वी क्षेत्रको अनुगमनमा जाँदा लथालिङ्ग अवस्थामा रहेका पोल देखाउँदै
सदस्य सिंह भन्छन् , “लाजलाई पनि लाज लागिसक्यो तर हाम्रा
जनप्रतिनिधिले लिएको ठेक्कासमेत पूरा गर्नुहुन्न । काम नगर्नेले किन भए/नभएको
ठेक्का लिनु ? यसरी कहाँ विकास निर्माणका काम गर्न
सकिन्छ । यो त सरासर हामीलाई असफल गराउने काम भयो ।” शाहले
लिएको ठेक्काको काम नहुँदा बारेकोट र कुशे गाउँपालिकामा विद्युतीकरणको काम ठप्प
भएको छ । यो काम समयमा भएको भए अहिलेसम्म विद्युत् गाउँगाउँमा पुगी झिलीमिली
भइसक्ने जाजरकोट वितरण केन्द्रले बताएको छ । सामग्री दिएर पनि काम नगर्दा निर्माण
व्यवसायीहरूले दुःख दिएको प्राधिकरणको भनाइ छ ।
त्यस्तै प्रदेशले गरेको ठेक्काको कामसमेत
प्रभावकारी नभएको पाइएको छ । त्रिपुरेश्वरी जय दुर्गे जेभीले लिएको ठेक्काको काम
कतै नभएको प्राधिकरणले जनाएको छ । मटेलाबाट भेर्याए जोड्ने लाइन काफलचौरसम्म लिएर
अगाडिको काम लथालिङ्ग बनाएको छ । जाजरकोट–डोल्पा
सडकखण्डको कालेगाउँ–रिम्नासम्म जोड्ने लाइन विस्तारको काम
अलपत्र भएको छ । कालेगाउँबाट बहुनथाना पाँचकाटिया जोड्ने कामसमेत बीचमै छाडिएको छ ।
यो पनि आव २०७५/७६ कै ठेक्का रहेको जाजरकोट वितरण केन्द्रले जनाएको छ । निर्माण
व्यवसायीलाई काम गर्न ताकेता गर्दा पनि सम्पर्कमै नआएको बताएको छ ।
तोकिएको समयभित्र काम
नलगाड नगरपालिकाको चिसापानीबाट प्रशासकीय
केन्द्र दल्लीसम्मको काम पूरा भएको छ । त्यहाँ मिटर जोड्नेबित्तिकै विद्युत् बल्ने
अवस्था रहेको विद्युत् प्राविधिकरणले जनाएको छ । आव २०७५/७६ मै ठेक्का लिएको रमन
कन्स्ट्रक्शनले दल्लीबाट चौखासम्मको कामसमेत अहिलेसम्म पूरा गर्नसकेको छैन । पोल
गाडे पनि तार तान्ने काम नभएकाले तुरुन्तै काम गर्न ताकेता गरिएको छ । सामग्री
नहुँदा रोकिएको काम सामग्री दिएलगत्तै शुरु गर्न लागेको कार्यालयले जनाएको छ।
चौखाबाट तल्लुसम्म पोल दिएर गाड्ने काम शुरु भएको छ । अगाडिको काम नभई पछाडिको काम
अगाडि बढ्न नसक्ने भएकाले दुवै कामसँगै भइरहेको छ । आव २०७६/७७ को नयाँ ठेक्का
न्यू बिके निर्माण सेवाले लिएको हो ।