कोहलपुर / बाँकेको कोहलपुरबाट छ
महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ । कोहलपुर
नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट
स्वदेश ल्याइएको हो ।
कोहलपुर–४ का वडाध्यक्ष तीर्थराम थारुका अनुसार
उद्धार गरिएका बालबालिकामा ११ वर्षीय रोशन वादी, सात वर्षीय विशाल वादी र पाँच वर्षीया पूजा
वादी छन् । रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’
नामक
संस्थाका समन्वयमा उद्धार गरिएका ती बालबालिकालाई आज परिवारको जिम्मा लगाइँदै छ ।
भारतको बरेलीस्थित नारी निकेतन अनाथ
आश्रममा रहेका उनीहरुलाई आवश्यक कागजातको प्रमाण जुटाएर फिर्ता ल्याइएको हो ।
उनीहरुसँगै बैतडीका १ र दाङका १ गरी थप दुई बालक पनि सोही बालगृहमा राखिएको
वडाध्यक्ष थारुले जानकारी दिएका छन् ।
छ महिनाअघि कोहलपुरबाट हराएका
बालबालिका नेपालगञ्जस्थित जमुनाह नाकाहुँदै रुपैडिहमा पुगेका जनाइएको छ ।
त्यहाँबाट भारतीय ट्रकमा बसेर बरेली पुगेका हुन् । बरेली पुग्नु भन्दा दुई/तीन
किलोमिटर वरै ट्रकले बालबालिकालाई झारिदिएपछि अलपत्र अवस्थामा सडकमा हिँडिरहेका
उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर स्थानीय संरक्षण संस्थाको जिम्मा लगाएको
थियो ।
नेपालगञ्जस्थित जमुनाह नाकाहुँदै भारत
गएर बालबालिका अलपत्र पर्ने गरेका छन् । माइती नेपाल नेपालगञ्जका संयोजक केशव
कोइरालाले साथीका लहलहैमा घर छोडेर हिँडेका बालबालिका जोखिमपूर्ण यात्रा गरी
भारतका विभिन्न शहरमा अलपत्र पर्ने गरेका बताएका छन् । उनका अनुसार यसअघि पनि
भारतको बहराइच, लखनउ, दिल्ली लगायतका स्थानमा अलपत्र परेका
बालबालिकाको उद्धार गरी पारिवारिक पुनःमिलन गराउने काम भएको छ ।