काठमाडौँ / प्रधानमन्त्री एवं नेपाली
कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव
भीमसेन घिमिरेको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
सचिव घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका
क्रममा ४७ वर्षको उमेरमा निधन भएको हो । प्रधानमन्त्री देउवाले शोक
विज्ञप्तिमार्फत उनको निधनको खबरले आफूलाई स्तब्ध र दुःखित बनाएको उल्लेख गर्दै उनको
आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
उनले स्व घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक
आन्दोलनमा पुर्याएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गरेका छन् ।
सचिव घिमिरे २०७४ सालको स्थानीय निर्वाचनमा
पार्टीका तर्फबाट ललितपुरको महाङ्काल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत रहेका
थिए । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गरेका स्व घिमिरेले
कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका
निर्वाह गरेको कांग्रेसले जनाएको छ ।