रसुवा
/ नेपाल-चीनबीचको उत्तरी रसुवागढी नाकाको व्यापारिक कारोवारबाट प्राप्त राजस्व
सार्वजनिक गरिएको छ । आर्थिक वर्ष २०७७/७८ मा आयात भएका चिनियाँ सामग्रीको भन्सार
शुल्कबाट कूल एक अर्ब ७३ करोड १९ लाख ४७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको रसुवा
भन्सार कार्यालय टिमुरेले जनाएको हो ।
आयात
भएका सामग्रीको मूल्याङ्कनका आधारमा मूल्य अभिवृद्धिकर, अन्त
शुल्क एवं भन्सार शुल्कका साथै अन्य विविध शीर्षकको असुलीबाट उक्त राजस्व सङ्कलन
भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिएका छन् । नेपालबाट
चीनतर्फ जाने सामग्रीको निर्यात शून्य रहेको छ । चीनतर्फबाट भने स्याउ, ओखर, लसुन, अदुवा, जुत्ताचप्पल, तयारी
पोशाक, स्वास्थ्य सामग्री, विद्युतीय
सामग्री, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका
उपकरण, एम्बुलेन्स लगायत केही सवारी साधन लगायतका विविध
सामग्री आयात हुने गरेको बताइएको छ ।
विगत
वर्ष २०७६/७७ मा भन्सार शुल्कबापतको राजस्व आठ अर्ब २७ करोड ७७ लाख रुपैयाँ असुली
भएको थियो । गत वर्ष भने बढ्दो कोरोना सङ्क्रमणका कारण नेपाल-चीनबीच रसुवागढीको
मितेरी पुलबाट केरुङका लागि मालबाहक सवारी लैजान र मानिसको आवागमनसमेत बन्द भएका
कारण सामग्री आयातमा कमी भई भन्सार शुल्कमा भारी गिरावट भएको भन्सार कर्मचारी
बताउँछन् ।
कोरोनाकै
कारण विगतमा आयात ठप्प भएपछि रोगको सावधानी अपनाउँदै नेपाल चीनबीचको समझदारी एवं
सीमा क्षेत्रमा कार्यरत दुई देशका अधिकारीबीचको समन्वयबाट १५ कन्ट्रेनरलाई पुग्ने
मात्र सामान आयात भइरहेको छ । शुरु शुरुमा पाँच/सात डिब्बा मात्र सामग्री आउने
गरेकामा भन्सार कार्यालयको पहलबाट अहिले १५ डिब्बासम्म सामान आयात हुने गरेको र थप
वृद्धिका लागि पहल भइरहेको भन्सार प्रमुख रेग्मीले जानकारी दिएका छन्।
क्वारेन्टिनमा
राखिएका कामदार एवं चालकलाई रसुवागढी नाकामा प्रवेश गराउने कार्य भइरहेको र
चिनियाँ मालबाहक सवारी साधनले रसुवागढीसम्म नै सामग्री ल्याउने गरेको भन्सार कार्यालयले
जनाएको छ । निरन्तरको वर्षा भिरपहराको फेदमा रहेको कार्यस्थललाई कुनै प्रवाह नगरी
भन्सार कर्मचारी, सुरक्षा अङ्गसमेतका राष्ट्रसेवक कर्मचारीका
साथै सवारी चालक एवं कामदारले निरन्तर कार्य गरिरहेका स्थानीय बासिन्दाले बताएका
छन् ।