बिर्तामोड / नेकपा एमालेको निर्वाचनको घोषणा पत्रमा नै सरकारी संस्थान र निकायलाई बलियो बनाउने उल्लेख छ तर त्यही दलका अध्यक्ष नै कामचलाउ सरकारको प्रधानमन्त्री रहेको समयमा आएको बजेटमा निजी क्षेत्रलाई प्रवेश गराउने उध्येष्य सहित मुनाफामा रहेको नेपाल टेलिकमको सेयर बिक्री गर्ने निती ल्याईएको छ ।
एमाले पार्टी र सो पार्टीका नेताहरुले आफ्ना भाषण अनि अर्थतन्त्रका कुरा गर्दा नेपाली कांगे्रसले सरकारी स्वामित्वका कम्पनी र संस्थान धरासायी बनाएको अनि बन्द गराएको भन्दै आलोचना गर्ने गरेका छन् । तर सोहि पार्टीको कब्जामा सरकार रहेको बेला सर्वसाधारणले नबुझ्ने भाषा अनि शब्द प्रयोग गरी कामचलाउ सरकारले टेलिकमको सेयर बिक्री गरी निजी क्षेत्रलाई प्रवेश गराउने बाटो बजेट मार्फत खुला गरिदिएको हो ।
विवादास्पद गतिविधि र निर्णयका कारण संसद नरहेको अनी सरकार समेत कामचलाउ बनेको समयमा टेलिकमको बजार अनि मुनाफामा दीर्घकालीन प्रभाव पार्ने गरी सरकारले बजेट मार्फत सेयर बिक्रीको व्यवस्था मिलाएर निजी क्षेत्र प्रवेशको बाटो खोलिदिएको हो ।
आम नेपाली जनता र सरकारको सेयर रहेको मुनाफाको एउटै सरकारी कम्पनीको सेयर बिक्रीका लागि बजेटमा जनताले नबुझ्ने गरी विनिवेशको बाटोमा लगिने उल्लेख गरिएको छ । सरकारले निजी क्षेत्रलाई प्रवेश गराउने उधेष्य सहित सेयर सहभागिता वृद्धि गर्ने नाममा बजेटमा २२ प्रतिशत सेयर बिक्री गरिने व्यवस्था मिलाईएको छ ।
सेयर बिक्रीलाई लिएर आमसर्वसाधारणले आक्रोस पोख्ने भयले सरकारले त्यसलाई भाषिकरुपमा विनिवेशको नाम दिएको छ । आर्थिक क्षेत्रका जानकारहरुले बजेटमा उल्लेख भएको विनिवेशको मतलब कम्पनीमा रहेको सरकारको सेयर बिक्री गर्ने भएको बताएका छन् । स्पष्ट शब्दमा भन्दा सेयर बिक्री गरेर सरकारले पैसा फिर्ता लाने निति नै विनिवेश भएको उनीहरुले बताएका छन् ।
भाषिक रुपमा अल्मल्याउने शब्द राखेर कामचलाउ सरकारले टेलिकमको सेयर बिक्री गर्न लागेको भन्दै टेलिकमका कर्मचारीहरुले आपत्ति जनाएका छन् । नेपाल टेलिकममा रहेको सरकारको ९१.५३ प्रतिशत सेयर स्वामित्व मध्ये २२ प्रतिशत सेयर बिक्री गरेर आफ्नो दल निकटका व्यवसायीलाई टेलीकममा प्रवेश गराउन खोजेको भन्दै कर्मचारीले आपत्ति प्रकट गरेका हुन् ।
कूल चुक्ता पूँजी १५ करोड कित्ता सेयर रहेको कम्पनीको २२ प्रतिशत अर्थात ३ करोड ३० लाख कित्ता सेयर बिक्री गर्ने गरी बजेटमा कामचलाउ सरकारले व्यवस्था मिलाएको छ ।
यो साता टेलिकमको सेयर प्रतिकित्ता १ हजार ३ सय १८ रुपैयामा खरिद बिक्री भईरहेको छ । यहि मूल्यलाई आधार मान्दा पनि ३ करोड ३० लाख कित्ताको मुल्य ४३ अर्ब ४९ करोड ४० लाख बराबर हुन्छ ।