सरकारले यही चैत २० गतेदेखि हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरुआत गर्र्र्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका १२ जिल्लामा हात्तीपाइले रोगबाट बच्नका लागि ‘डाइथाइल कार्बामाजिन’ ९डिइसी० र जुकाको औषधि ‘अल्वेन्डाजोल’ नामक दुई औषधि खुवाउने भएको हो । रगत र पेटमा भएको परिजीवि जुकालाई मार्नका लागि ती औषधि खुवाइने गरिन्छ । चिकित्सकका अनुसार डिइसीले रगतमा रहेको परजीवि जुकालाई र ‘अल्वेन्डाजोल’ले पेटमा रहेको जुकालाई मार्ने गर्दछन् ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य शाखाका प्रमुख डा प्रकाशप्रसाद साहले हात्तीपाइले रोगबाट बच्नका लागि १२ जिल्लामा औषधि खुवाइने जानकारी दिएका छन् । उनका अनुसार अभियान एक हप्तासम्म सञ्चालन हुने छ ।
उनका अनुसार झापा, धनकुटा, मोरङ, वारा, लमजुङ, पर्वत, वागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लाका १२९ स्थानीय तहका ७० लाख ४५ हजार व्यक्तिलाई औषधि खुवाइने छ । औषधि खुवाउनका लागि पाँच हजार ४०० स्वास्थ्यकर्मी र नौ हजार ५०० महिला स्वास्थ्य स्वयसेविका परिचालन गरिने उनले जानकारी दिएका छन् ।
नेपालमा करिव ३० हजार हात्तिपाइले रोगी रहेका छन् । यसको नियन्त्रणका लागि सरकारले सन् २००३ देखि ती औषधि खुवाइरहेको छ ।
हात्तीपाइले रोग सङ्क्रमति पाथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ । यसरोग लागेपछि मानिसलाई शारिरीकरुपमा अशक्त, असमर्थ र अपाङ्ग बनाउने गर्दछ । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले मानिसको शरिरमा प्रवेश गरेपछि हुने गर्दछ । परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यो रोगको लक्षण देखिने गर्दछ ।
किटजन्य शाखा प्रमुख डा साहले रोगको लक्षण देखिसकेपछि निको पार्न नसक्ने भएकोले रोग लाग्न नदिन नै यस रोगबाट बच्न उत्तम उपाय भएको बताए ।
हात्तीपाइले रोग शुरूको अवस्थामा नरम वा थिच्दा थिचिने खालको सुन्निने गर्दछ भने पछिल्लो अवस्थामा छाला बाक्लो हुँदै नथिचिने खालको हुँदै जाने, ठुलो खालको सुन्निने, छालमा पत्र हुँदै जाने वा गाँठागुँठी पलाउन थाल्ने र सुन्निएको अङ्गमा मुसा पलाउने र घाउ हुँदै जाने गर्दछन् ।
विश्वमा कुल जनसङ्ख्याको ८५ करोड ६० लाख मानिस हात्तीपाइले रोगको जोखिममा रहेको तथ्याङ्क रहेको छ ।
शुरुमा नेपालमा ६३ जिल्ला हात्तीपाइलेको जोखिममा रहेपछि अहिले १२ जिल्ला रहेका छन् । सरकारले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रम सञ्चालन गरेर सन् २०२६ सम्म हात्तीपाइलेका रोगीलाई एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ । हात्तीपाइले रोग बढीजसो पुरुषको अण्डकोष सुनिने र हात तथा खुट्टा सुनिने गर्दछ । विश्व स्वास्थ्य संगठनसंगै नेपालले पनि सन् २०३० सम्म आम औषधि सेवनमार्फत संसारभरबाटै यस रोगलाई निवारण गर्ने लक्ष्यका साथ काम गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मन्त्रालयले वर्षको एक पटकका दरले छ वर्षसम्म नियमित औषधि सेवन अभियान सञ्चालन गर्ने र रोग सर्ने प्रक्रियालाई रोकिने लक्ष्य लिइएको उनले बताए । नेपालमा हात्तीपाइलेको औषधि ११ करोडभन्दा बढी मात्रा खुवाइसकेको छ ।
औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुख्ने, वाकवाकी लाग्ने तथा पेट दुख्ने जस्ता समस्या आएपछि औषधिले प्रभावकारी काम गर्न थालेको भन्ने बुझ्र्ने किटजन्य शाखा प्रमुख डा साहले जानकारी दिए । उनले त्यस्ता लक्षण केही घण्टामा आफै हराएर जाने र लामो समयसम्म लक्षण देखिए नजिकैको स्वास्थ्य सङ्घसंस्थामा उपचार गर्न अनुरोध गरेका छन् ।
दुई वर्ष उमेर नपुगेको बालबालिका, गर्भवती र सात दिनसम्म सुत्केरी तथा सिकिस्त विरामीले हात्तीपाइले रोग विरुद्धका ती औषधि सेवन गर्नु हुँदैन ।