एजेन्सी । वासिङ्टनस्थित वासिङ्टन हिल्टनमा आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छ।

घटनालगत्तै पक्राउ परेका युवक ३१ वर्षीय कोल एलेन दक्षिणी क्यालिफोर्नियाका शिक्षक र भिडियो गेम निर्माणकर्ता रहेको खुलेको हो।

वाशिङ्टन हिल्टन होटलमा आयोजित कार्यक्रममा एक्कासी गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्प, उनकी पत्नी मेलानिया, उपराष्ट्रपति जेडी भान्स लगायतलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर सुरक्षित स्थानमा लगेका थिए । घटनालगत्तै सुरक्षाकर्मीहरुले एलेनलाई नियन्त्रणमा लिएका थिए ।

शनिबार राति आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले एलेनले कार्यक्रमस्थलमा रहेको सिक्रेट सर्भिसको जाँच चौकीतर्फ हतियारसहित दौडिएको र त्यसपछि एक अधिकारीमाथि गोली चलाएको बताएका छन् । गोली लागेका ती अधिकारीलाई बुलेटप्रुफ भेस्टले जोगाएको थियो । सुरक्षा निकायका एजेन्टहरूले जवाफी कारबाहीको क्रममा उनलाई पनि नियन्त्रणमा लिएर अस्पताल लगेका थिए। 

यता राष्ट्रपति ट्रम्पले एलेनलाई ‘एक्लो आक्रमणकारी’ र ‘गम्भीर मानसिक समस्याग्रस्त व्यक्ति’ भनेर टिप्पणी गरेका छन् ।