बिर्तामोड / कागेश्वरी मनोहरा नगरपालिका–४ कोलमतेश्वरमा नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण भएको छ । रङरोगन र बत्ती हाल्ने काम भइरहेको मन्दिर क्षेत्र प्राचीनकालदेखि नै कोलमतेश्वर महादेवका नामले प्रसिद्ध थियो । घाँटीभन्दा माथिको भाग घोडा र घाँटीमुनिको भाग मान्छेको जस्तो भएकालाई ह्यग्रीव भनिन्छ । ह्यग्रीव भगवान् विष्णुका २४ अवतारमध्येको एक हो । ह्यग्रीव अवतार लिएर भगवान् विष्णुले वेदको रक्षा गर्नुभएको थियो । वेद रक्षा गरेर भगवान् विष्णुले ब्रह्मालाई दिनुभएको वर्णन विभिन्न वैदिक ग्रन्थमा गरिएको छ ।
ब्रह्माबाट मधुकैटभ दैत्यले वेद हरण गरी लगेपछि भगवान् विष्णुले ह्यग्रीव रूपधारण गरी उद्धार गरेर ब्रह्मालाई फिर्ता गर्नुभएको विषय विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको । ह्यग्रीव रूपधारण गरेर भगवान् विष्णुले वेदको उद्धार गर्नुभएको सन्दर्भ श्रीमद्भागवतको द्वितीय स्कन्ध सात अध्यायको ११औँ श्लोकमा वर्णन गरिएको छ । महाभारतको शान्ति पर्वमा पनि यस विषयमा चर्चा गरिएको लक्ष्मी ह्यग्रीव मन्दिरका संस्थापक रुरु पीठाधीश स्वामी जगदीश प्रपन्नाचार्यले राससलाई जानकारी दिनुभयो ।
भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुको अर्को कारण श्रीमद्देवी भागवतमा पनि वर्णन गरिएको छ । ह्यग्रीव नाम गरेका एक दैत्यले मेरै नाम गरेकाले मात्र मलाई मार्न सकून् भनी वर मागेकाले भगवान् विष्णुले ह्यग्रीव रूपधारण गर्नुभएको हो । भगवान् ह्यग्रीवको नेपालमा अन्यत्र मन्दिर नभएकाले यहाँ निर्माण गरिएको हो । भगवान् विष्णुले ह्यग्रीव अवतार लिनुभएको सन्दर्भसँग कोलमतेश्वर क्षेत्रको सम्बन्ध रहेको स्वामी जगदीश प्रपन्नाचार्य बताउछन् ।
स्कन्द पुराणअन्तर्गतको हिमवत्खण्ड ९नेपालमाहात्म्य० वाग्मती नदीको तीर वर्णन क्रममा १२८ नं अध्यायमा कोलमती तीर्थ र कोलमतीघाटका बारेमा वर्णन गरिएको छ । “कोलमतीघाटमा भाद्रकृष्ण पञ्चमीमा स्नान र दर्शन गरेमा करोडौँ गोदान गरेबराबरको फल मिल्ने वर्णन धार्मिक ग्रन्थमा गरिएको छ, कोललाई बराह भनिने भएकाले श्वेतबाराहीबाट बगेर आएको नदीलाई कोलमती भनिएको हो”, उनले भने ।
कोलमती वाग्मतीमा मिसिने घाटलाई कोलमतीघाट भनिन्छ । कोलमती र वाग्मती मिसिने स्थानमा चैलमतीसमेत मिसिएर त्रिवेणीघाट बनेकाले यो स्थलको महत्व पौराणिक एवं शास्त्रीय ग्रन्थमा वर्णन गरिएको छ । वामन अवतार लिनुभएका भगवान् विष्णुलाई सृष्टिकर्ता ब्रह्माले जल चढाउँदा कपडामा परेर खसेकाले चैलमती नाम रहेको वर्णन ती ग्रन्थमा गरिएको स्वामी जगदीश प्रपन्नाचार्य बताउनुहुन्छ । चैलमतीलाई हाल शब्द अपभ्रंश भई चौलमती पनि भनिन्छ ।
यहाँ ब्रह्माले वामनरुपी भगवान् विष्णुलाई जल चढाउँदा खसेको शिलालाई अहिले पनि चौलनारायणका रूपमा पूजा आराधना गरिन्छ । नेपाल माहात्म्यको ३२औँ अध्यायमा सुन्दराचल क्षेत्रको वर्णन छ । त्यो क्षेत्र हालको सुन्दरीजल हो भन्ने स्वामी जगदीशको विश्वास छ । सुन्दरीजलको तल्लो भागमा पर्ने यो स्थल सुन्दराचलकै आधुनिक रूप हो । नेपाल माहात्म्यको ३२औँ अध्यायको २८, २९ र ३०औँ श्लोकमा सुन्दराचल क्षेत्रमै भगवान् ह्यग्रीव बस्नुहुन्छ भनी वर्णन गरिएकाले यहाँ नेपालकै पहिलो लक्ष्मी ह्यग्रीव मन्दिर निर्माण गरिएको हो । कोलमती, चैलमती र वाग्मती गरी तीन नदी मिसिएर त्रिवेणी सङ्गम बनेको कोलमतीघाटमा सत्ययुगमा भगवान् विष्णुसमेत आएर स्नान गर्नुभएको प्रसङ्ग पनि विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
धार्मिक महत्व भए पनि गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र नजिकै रहेकाले कोलमतेश्वर क्षेत्र लामो समयदेखि ओझेलमा परेको थियो । यहाँको प्राचीन महत्व थाहा पाएपछि स्थानीयवासी मन्दिर निर्माणमा जुटेका हुन् । यस क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीयवासी जुटेका छन् । मन्दिर निर्माणका लागि हालसम्म रु एक करोड खर्च भइसकेको निर्माण समितिका अध्यक्ष ध्रुवप्रसाद सिम्खडा बताउछन्।
मन्दिर निर्माणका लागि कागेश्वरी मनोहरा नगरपालिकाले रु २७ लाख, वाग्मती प्रदेश सरकारबाट रु १० लाख, मन्दिर निर्माणका लागि लगाइएको सप्ताहबाट रु सात लाख र गोकर्णेश्वर नगरपालिकाले रु पाँच लाख सहयोग गरेका छन् । अरु सहयोग भक्तजनबाट उठेको उनी बताउछन् । मन्दिर क्षेत्रमा ढुङ्गा छाप्नेलगायत कामका लागि थप सहयोग आवश्यक भएकाले कागेश्वरी मनोहरा नगरपालिकासँग कुराकानी भइरहेको अध्यक्ष सिम्खडा बताउछन् ।
वाग्मती किनारको गोकर्ण राज निकुञ्ज क्षेत्रसँग जोडिएको आकर्षक स्थलमा रहेको १७ रोपनी क्षेत्रफलमा फैलिएको यस स्थलमा सिम्खडाहरुको इष्टदेवीका रूपमा पुजिँदै आउनुभएकी चिनादेवी, सप्तऋषि, कोलमतेश्वर महादेव मन्दिरलगायत मन्दिर पनि यसअघि बनिसकेको छ । मन्दिर क्षेत्रलाई रङरोगन गरी आगामी वैशाख, जेठमै प्राण प्रतिष्ठासहित शुभारम्भ गर्ने तयारी भइरहेको जनाइएको छ । स्वामी जगदीश प्रपन्नाचार्यको नेतृत्वमा हाल यहाँ गुरुकुलसमेत शुरु गरिएको छ । गुरुकुलमा हाल पाँच विद्यार्थी अध्ययनरत छन् । गुरुकुललाई विस्तार गर्न लागिएको छ ।