• अनिता बिष्ट

बिर्तामोड /  झापाको अर्जुनधारा नगरपालिका –११ मा पर्ने सुखानी सहिद स्मृति प्रतिष्ठान पर्यटकिय गन्तब्य बन्दै गएको छ । उक्त ठाउँमा अवलोकन गर्न, बनभोजखान र मनोरञ्जनका लागि आउनेहरु दिनप्रतिदिन बढ्न थालेका छन् । 

वि.सं. २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई पञ्चायती व्यवस्थाविरुद्ध मोर्चाबन्दी गरेको आरोपमा नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई तत्कालीन पञ्चायती शासकले सुखानी जंगलमा लगेर हत्या गरेको थियो । घिमिरे, कुइँकेल र श्रेष्ठ झापाको साविक गरामनी गाविस तथा दाहाल साविक चारपाने गाविस र राजवंशी साविक ज्यामिरगढी गाविसका बासिन्दा थिए । बि.सं. २०२९ साल कात्तिकमा प्रहरीद्वारा पक्राउ परेका उनीहरू झापा जेलमा राखिएका थिए। झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जङ्गलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो ।

OM Sai Pathibhara Hospital

तिनै सहिदहरुको सम्झनामा वि.सं. २०५६ सालमा सो पार्कको स्थापना गरेको थियो । तर वि.सं. २०७१ साल देखि मात्र सुखानी स्स्मृति पार्कलाई औपचारिक रुपमा सञ्चालनमा ल्याईएको उद्यानका व्यवस्थापक पुष्प तिवारी बताउँछन् । सालबारी वनको ३३ बिघा क्षेत्रफलमा फैलिएको सो पार्क पर्यटकीय गन्तव्य बन्नेको छ । 

सहिद स्मृति उद्यानको अवलोकन गर्न तथा मनोरञ्जन लिन बार्षिक २५ देखि ३० हजार सम्म आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष टंक बराल बताउँन् । प्रतिष्ठान क्षेत्रभित्र पाँचजना सहिदहरुको प्रतिमा राखिएको छ । वरीपरीको सुन्दर हरियाली जङ्गल, कलात्मक ढङ्गले सजाईएको फूलबारी र यहाँको मनोरम दृष्यको कारण यो प्रतिष्ठान पर्यटकको रोजाई बन्न पुगेको हो । 

यहाँ झिल, झोलुङ्गे पुल पनि निर्माण गरिएको छ । यो बिहान ८ बजे देखि वेलुका ५ बजे सम्म खुल्ला रहन्छ । यहाँ फिलिम सुटिङ्ग, म्यूजिक भिडियो, फोटो सुटिङ गर्न, कार्यक्रम गर्न र बैठक बस्नका लागि पनि मानिसहरु आउने गरेका छन् । 

सो उद्यान सञ्चालनमा ल्याएसँगै  यहाँका स्थानियहरुलाई पनि रोजगारको सिर्जना भएको र व्यापार व्यवसायमा वृद्धि भएको स्थानिय नन्दलाल राजवंशी बताउछन् ।