काठमाडौं । भोटेकोशी बाढीले नेपालमा ठूलो मानवीय संकट निम्त्याइरहेका बेला चीनले आपत्कालीन राहतसहित उद्धार टोली नेपाल पठाएको छ। चीनबाट ५० टन राहत सामग्री बोकेका जनमुक्ति सेनाका दुई ठूला वाई–२० विमान आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

करिब बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दुवै विमानमार्फत ५० टन आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको चिनियाँ दूतावासले जनाएको छ।चीनको सहयोग राहत सामग्रीमा मात्र सीमित छैन। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियानमा सघाउन चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञसमेत अत्याधुनिक उद्धार उपकरणसहित नेपाल आएका छन्।विशेषगरी बाढी र पहिरोका कारण सुरुङ, संरचना तथा जोखिमपूर्ण क्षेत्रमा फसेकाको उद्धार चुनौतीपूर्ण भइरहेका बेला चिनियाँ विशेषज्ञको टोलीलाई महत्वपूर्ण मानिएको छ।

त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा चिनियाँ दूतावासले नेपाललाई राहत सामग्री हस्तान्तरण गरेको थियो। कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा प्रतिनिधिसभा सदस्य धर्म केसीको उपस्थिति थियो।कार्यक्रममा नेपाल आएका चिनियाँ उद्धार विशेषज्ञलाई समेत स्वागत गरिएको थियो।भोटेकोशी बाढीपछि नेपालमा उद्धार, राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग जुटिरहेका बेला चीनको सैन्य वायुसेनामार्फत आएको राहत र विशेषज्ञ टोलीले विपद् व्यवस्थापनमा थप प्राविधिक तथा मानवीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।