काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको असर तल्लो तटीय जिल्लासम्म फैलिँदा बाढीमा परी मृत्यु हुनेको संख्या ७३४ पुगेको छ। बाढीको बहावसँगै शवहरू रसुवाबाट तलका विभिन्न जिल्लासम्म पुगेपछि मृतकको संख्या ठूलो देखिएको हो।
विपद् प्राधिकरणको पछिल्लो विवरणअनुसार चितवनमा मात्रै २५९ जनाको शव फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जनाको शव फेला परेको छ।
तर, बाढीबाट भएको मानवीय क्षतिको वास्तविक तस्वीर अझै स्पष्ट भइसकेको छैन। २ हजार ४९८ जना अझै सम्पर्कविहीन छन्। बेपत्ताको सूचीमा जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना कामदार छन्।यस्तै, विभिन्न सुरक्षा निकायका ८५ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन छन्। उनीहरूमध्ये नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरीका १३ जना छन्।
बाढीमा ५८९ विदेशी नागरिक र उनीहरूसँग रहेका १२७ नेपाली पर्यटन सहयोगी पनि बेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार रसुवाबाट मात्रै ५६२ र नुवाकोटबाट ११५ जना सम्पर्कविहीन छन्।विपद्पछि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ। देशभरबाट १९ हजार ८९५ सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा परिचालन भएका छन्। अहिलेसम्म ८ हजार १८६ जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ।
बाढीमा बगेका शवहरू विभिन्न तल्लो तटीय जिल्लामा भेटिन थालेपछि बेपत्ताको खोजी र शव पहिचान अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ। विशेषगरी जलविद्युत् आयोजना, सुरक्षा निकाय र पर्यटन क्षेत्रसँग सम्बन्धित ठूलो संख्याका मानिस सम्पर्कविहीन रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।




































