काठमाडौं । नेपाल–चीन सीमापारि बनेको ठूलो ताल फुटेपछि त्यसको असर रसुवाको स्याफ्रुबेसीसम्म आइपुगेको छ। भोटेकोशी नदीमा आएको बाढी शुक्रबार दिउँसो स्याफ्रुबेसी पुगेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा थप जोखिम बढेको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार दिउँसो १२ः३१ बजे भोटेकोशीको बाढी स्याफ्रुबेसीमा पुगेको हो। चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ताल फुटेपछि आएको पानी भोटेकोशी हुँदै नेपालतर्फ प्रवेश गरेको हो।
बाढी स्याफ्रुबेसी आइपुगेपछि अब त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मै अर्को सूचना नआएसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी नदी किनारका बस्ती, सडक तथा पुल आसपास रहेका नागरिकलाई जोखिम नलिन र सम्भावित बाढीको बहावबाट टाढा सुरक्षित स्थानमा रहन भनिएको छ।
यसअघि चीनतर्फ पहिरोले नदी थुनेर ठूलो ताल बनेको थियो। तालमा पानीको मात्रा बढ्दै गएपछि बाँध फुट्ने जोखिम देखिएको थियो। अन्ततः ताल फुटेपछि आएको बाढी अहिले नेपालतर्फको नदी प्रणालीमा प्रवेश गरेको हो।
अहिले मुख्य चिन्ता स्याफ्रुबेसीमा आएको बाढी कति तलसम्म र कति तीव्र गतिमा पुग्छ भन्नेमा छ। त्यसैले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका नागरिकलाई प्रशासनको सूचना निरन्तर पछ्याउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।





































