काठमाडौं / नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै राजनीतिक दलले मतभेद बिर्सेर एकजुट भएर काम गर्नुपर्ने बताएका छन्।

उनले बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग समन्वय गर्दै कांग्रेसका कार्यकर्तालाई परिचालन गर्न पार्टी तयार रहेको स्पष्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपद्को समयमा सबै दलबीच सहकार्य गर्ने परम्परालाई निरन्तरता दिन बैठक आयोजना गरिएको बताए।

उनका अनुसार बैठकमा खोज, उद्धार, राहत र पुनर्स्थापनासम्बन्धी विषयमा छलफल हुनुका साथै सरकारलाई आवश्यक सुझावसमेत दिइएको थियो। सरकारले हाल सुरक्षाकर्मी, प्रशासनिक निकाय तथा अन्य सरकारी संयन्त्रमार्फत उद्धार कार्य सञ्चालन गरिरहेको जानकारी बैठकमा गराइएको उनले बताए। साथै, राज्यसँग भएका नियमित साधन–स्रोत पर्याप्त नभए थप उपलब्ध स्रोत र जनशक्तिलाई पनि परिचालन गर्नुपर्नेमा दलहरूको जोड रहेको उनले उल्लेख गरे।

थापाले बाढीमा बेपत्ता भएका नागरिकको खोजी, घाइतेको उद्धार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु अहिलेको मुख्य प्राथमिकता भएको बताए। उनले आवश्यकता अनुसार सडक खुलाउने, राहत वितरण र खोज तथा उद्धारमा कांग्रेसका स्वयंसेवक तथा पार्टीका विपद् व्यवस्थापन संरचनालाई सरकारको समन्वयमा परिचालन गरिने जानकारी दिए।

उनका अनुसार सर्वदलीय बैठकमा गृहमन्त्रीले पनि राजनीतिक दलका कार्यकर्तालाई विपद्ग्रस्त क्षेत्रमा परिचालन गर्न आग्रह गरेका थिए। कांग्रेसले सरकारको निर्देशन र स्थानीय आवश्यकताअनुसार आफ्ना सबै विपद् संरचनालाई सक्रिय बनाउने उनले बताए।