काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी आकस्मिक बाढीले नेपालमा पछिल्ला वर्षकै भयावह मानवीय तथा भौतिक क्षति गराएको छ। बाढीले रसुवाको चीन सीमा क्षेत्रदेखि नुवाकोट, धादिङ हुँदै चितवन, गोरखा, तनहुँ र नवलपरासीसम्मको नदी तटीय क्षेत्रमा ठूलो विनाश मच्चाएको छ।पछिल्लो विवरणअनुसार कम्तीमा १७५ जनाको मृत्यु भइसकेको छ भने सयौँ मानिस अझै सम्पर्कविहीन छन्। त्यसपछि थप शव भेटिएसँगै मृत्यु संख्या बढेको हो। खोज तथा उद्धार जारी रहेकाले मृतक र बेपत्ताको संख्या अझै बढ्न सक्ने सुरक्षा अधिकारीहरूले बताएका छन्।

कहाँ–कहाँ भेटिए शव ?

नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, गोरखामा २०, चितवनमा ६४, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ। सबै शवको पहिचान भने भइसकेको छैन।यसअघि बुधबार रातिसम्म नै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वमा गरी १०० शव भेटिएको थियो। त्यसपछि रातभर र बिहीबार बिहानसम्म नदीका विभिन्न भागबाट थप शव निकालिएका हुन्।

सयौँ अझै बेपत्ता

बाढीले नेपाली सुरक्षाकर्मी, पर्यटक, जलविद्युत् आयोजनाका कर्मचारी तथा स्थानीय बासिन्दालाई समेत प्रभावित बनाएको छ।सरकारले सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार ४४ जना नेपाली सेना, २८ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी गरी ८५ सुरक्षाकर्मी सम्पर्कविहीन छन्। त्यस्तै ४८४ पर्यटक सम्पर्कविहीन रहेकोमा ३९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन्। विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी पनि सम्पर्कविहीन रहेको सरकारले जनाएको छ।विदेशी नागरिकतर्फ भारत, अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडा लगायतका देशका नागरिकसमेत सम्पर्कविहीन रहेको विवरण आएको छ। यसले यो विपद्को असर नेपाली नागरिकमा मात्र सीमित नभई अन्तर्राष्ट्रिय पर्यटकसम्म पुगेको देखाएको छ।

टिमुरेदेखि सुरु भएको विनाश

बाढीको सबैभन्दा ठूलो असर रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेंसी, हाकुबेंसी, मैलुङलगायत क्षेत्रमा परेको छ। नदी किनारका बजार तथा बस्ती नै बगाएका दृश्यहरू सार्वजनिक भएका छन्।रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका नदी किनारका बस्तीहरूमा ठूलो क्षति पुगेको छ। त्यसपछि बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा मिसिएर तल्लो तटीय क्षेत्रमा फैलिएको हो। करिब ९ः०५ बजे भोटेकोशीमा ठूलो बाढी प्रवेश गरेको जानकारी प्राप्त भएको प्राविधिक अध्ययनले देखाएको छ। त्यसपछि पानी भोटेकोशी–त्रिशूली हुँदै नारायणीसम्म पुगेको प्रारम्भिक प्राविधिक विवरण छ।

४० किलोमिटर सडक क्षतिग्रस्त

बाढीले सडक पूर्वाधारमा पनि कल्पनै गर्न नसकिने क्षति गरेको छ।रसुवागढीदेखि बेत्रावती हुँदै तल्लो क्षेत्रमा जोडिने करिब ४० किलोमिटर सडकमा ठूलो क्षति पुगेको छ। विभिन्न स्थानमा सडक पूर्ण रूपमा बगाएको तथा कटान गरेको छ।सडक विभागका अनुसार सुरुको विवरणमै १९ वटा मोटरेबल पुल र ५ वटा बेलिब्रिज बगेका थिए। अन्य विवरणमा क्षतिको दायरा थप बढेको देखिएको छ। त्रिशूली, बेत्रावती, तादी खोलालगायतका नदी तथा खोलामा रहेका पुलहरूमा समेत क्षति पुगेको छ।यही कारण प्रभावित क्षेत्रमा उद्धार, राहत तथा आवतजावतमा ठूलो समस्या सिर्जना भएको छ। जोखिमका कारण केही प्रमुख सडकखण्डमा यातायातसमेत बन्द गरिएको छ।

बजार र बस्ती नै बगे

नुवाकोटतर्फ बेत्रावती, ढुंगे, त्रिशूली बजार, देवीघाट, तुप्चे, सोले, अक्करेलगायत क्षेत्रमा ठूलो क्षति पुगेको विवरण आएको छ।स्थानीय जनप्रतिनिधिका अनुसार कतिपय ठाउँमा घर, पसल, बैंक, पुल र बजार क्षेत्र नै बाढीको भेलमा परेका छन्। कतिपय बस्तीका घरहरू पूर्ण रूपमा बगेका छन् भने धेरै परिवार विस्थापित भएका छन्।

बैंकका शाखा पनि बाढीको चपेटामा

बाढीले रसुवामा रहेका बैंक तथा वित्तीय संस्थामा समेत ठूलो क्षति पु-याएको छ।प्रारम्भिक विवरणअनुसार रसुवाका ९ वटा वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन् र ती शाखामा कार्यरत २६ कर्मचारी सम्पर्कविहीन छन्। अन्य जिल्लाका बैंक तथा वित्तीय संरचनामा समेत क्षति पुगेको विवरण सार्वजनिक भएको छ।

जलविद्युत् आयोजनामा ठूलो धक्का

भोटेकोशी बाढीले नेपालको जलविद्युत् क्षेत्रमा समेत गम्भीर असर पारेको छ।प्रत्यक्ष प्रभावित आयोजनामा रसुवागढी १११ मेगावाट, सालासुङ्गी÷सान्जेन ७८ मेगावाट, अपर साञ्जेन १४.८ मेगावाट, सान्जेन ४२.५ मेगावाट, चिलिमे २२ मेगावाट, लाङटाङ २० मेगावाट, अपर त्रिशूली–३ ए ६० मेगावाट, अपर मैलुङ १४.८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली २४ मेगावाट र देवीघाट १४ मेगावाट लगायतका आयोजना प्रभावित भएका छन्।बाढीका कारण करिब ४३१ मेगावाट क्षमताका १२ वटा जलविद्युत् आयोजना बन्द भएको प्रारम्भिक विवरणसमेत सार्वजनिक भएको छ। आयोजनामा कार्यरत ६० कर्मचारी सम्पर्कविहीन छन्।

सञ्चार र विद्युत् सेवा अवरुद्ध

बाढीले सञ्चार पूर्वाधारमा पनि ठूलो क्षति पु-याएको छ। रसुवा, नुवाकोट र धादिङका दर्जनौँ सञ्चार टावर तथा अप्टिकल फाइबरमा क्षति पुगेको छ। रसुवाका १९ मध्ये ८ वटा, नुवाकोटका ४७ मध्ये १५ वटा र धादिङका १२ वटा साइटको सेवा प्रभावित भएको प्रारम्भिक विवरण छ। केही टावर बाढीले नै बगाएको तथा अन्य टावर विद्युत् आपूर्ति बन्द हुँदा सञ्चालन हुन नसकेको बताइएको छ।यसका कारण प्रभावित क्षेत्रसँग सम्पर्क गर्नसमेत कठिनाइ भएको छ। फोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा बेपत्ताको खोजी र क्षतिको यकिन विवरण संकलनमा समेत समस्या भएको छ।

रसुवागढी नाका र भन्सारमा ठूलो असर

चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी क्षेत्रमा समेत बाढीले ठूलो क्षति पु¥याएको छ। भन्सार तथा अध्यागमन कार्यालयका कर्मचारीहरू सम्पर्कविहीन भएको विवरण आएको छ। सीमा क्षेत्रको सडक, पुल, सञ्चार र विद्युत् संरचना प्रभावित हुँदा चीनतर्फको आवागमन तथा व्यापारिक गतिविधि पनि प्रभावित बनेको छ।

बाढी कहाँबाट आयो ?

भोटेकोशीमा आएको यो बाढी सामान्य वर्षाजन्य बाढीभन्दा फरक र अत्यन्त तीव्र थियो।प्रारम्भिक प्राविधिक अध्ययनअनुसार तिब्बततर्फबाट ठूलो पानीको भेल भोटेकोशीमा प्रवेश गरेको देखिएको छ। बाढीको वास्तविक कारणबारे प्रारम्भमा हिमताल विस्फोट, हिमपहिरो वा पहिरोले नदी थुनेर अचानक बाँध फुटेको हुन सक्ने विभिन्न अनुमान गरिएको थियो।पछिल्लो वैज्ञानिक विश्लेषणले भने हिमपहिरो÷हिमनदीसँग सम्बन्धित ठूलो बरफ–चट्टान खसाइले नदीको बहाव अवरुद्ध गरी अचानक ठूलो पानीको भेल सिर्जना गरेकोतर्फ संकेत गरेको छ। प्रारम्भमा भूकम्पलाई कारण मानिए पनि अमेरिकी भूगर्भ सर्वेक्षणको विश्लेषणले देखिएको भूकम्पीय संकेत हिमनदी÷हिमपहिरो खसाइसँग सम्बन्धित हुनसक्ने बताएको छ।

नदीमा पानीको तह एकैछिनमा अस्वाभाविक रूपमा बढ्यो

विशेषज्ञहरूका अनुसार त्रिशूली नदीको पानीको सतह छोटो समयमा अत्यन्त तीव्र गतिमा बढेको थियो। यही कारण नदी किनारमा रहेका बस्ती, सडक, पुल, गाडी तथा अन्य संरचनालाई सुरक्षित स्थानमा सार्न पर्याप्त समयसमेत मिलेन।

उद्धारमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी

विपद्पछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ठूलो संख्यामा सुरक्षाकर्मी उद्धारमा परिचालन भएका छन्।हेलिकोप्टरमार्फत जोखिमपूर्ण क्षेत्रमा फसेका नागरिकको उद्धार, घाइतेलाई काठमाडौं तथा अन्य अस्पतालमा ल्याउने, शव खोज्ने तथा नदी किनारमा खोजी अभियान सञ्चालन भइरहेको छ। खराब मौसम, सडक तथा सञ्चार सम्पर्क विच्छेद र भौगोलिक कठिनाइले उद्धारमा चुनौती थपिएको छ। नेपाल प्रहरीले प्रभावित जिल्लामा विशेष टोली परिचालन गरेको जनाएको छ।

उपचारका लागि घाइते काठमाडौंसहित विभिन्न ठाउँमा

बाढीबाट घाइते भएका नागरिकलाई विभिन्न अस्पतालमा उपचार भइरहेको छ। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार ४१ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

सरकारले प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त घोषणा

बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय सरकारले गरेको छ।सरकारले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने, राहत तथा उद्धार तीव्र पार्ने, घाइतेको निःशुल्क उपचार गर्ने र अवरुद्ध सडक, विद्युत्, खानेपानी तथा दूरसञ्चार सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

क्षतिको पूर्ण हिसाब अझै बाँकी

तर यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के हो भने यो क्षतिको अन्तिम विवरण होइन। बाढीले बस्ती नै बगाएका कारण कति घरपरिवार प्रभावित भए, कति मानिस सम्पर्कविहीन छन्, कति घर तथा निजी सम्पत्ति नष्ट भए र कुल आर्थिक क्षति कति भयो भन्ने यकिन विवरण अझै आउन सकेको छैन।विशेषगरी नदी किनारका कतिपय बस्तीमा सम्पर्कविच्छेद भएकाले वास्तविक मानवीय क्षतिको विवरण खोज तथा उद्धार अभियान पूरा भएपछि मात्रै स्पष्ट हुने देखिएको छ।

भोटेकोशीमा आएको यो बाढी केवल एउटा नदीमा आएको विपद् रहेन-यसले बस्ती बगायो, पुल र सडक बगायो, जलविद्युत् आयोजना तहसनहस बनायो, सीमा नाका प्रभावित बनायो र सयौँ परिवारलाई शोक र अनिश्चितताको भूमरीमा धकेलेको छ। मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ, सयौँ अझै सम्पर्कविहीन छन्। उद्धार टोली नदीको तटीय क्षेत्रमा शव र जीवित नागरिकको खोजीमा जुटिरहेका छन्। तर भोटेकोशीले गरेको विनाशको वास्तविक हिसाब भने उद्धार अभियान सकिएपछि मात्रै पूरा रूपमा बाहिर आउने देखिएको छ।