काठमाडौं।  करिब २६ लाख स्मार्ट ड्राइभिङ लाइसेन्स छापिएसँगै वर्षौँदेखिको ब्याकलग अन्ततः सकिएको छ। अब भने एक वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख लाइसेन्स नवीकरणपछि मात्रै छापिने भएका छन्।

चार वर्षदेखि स्मार्ट लाइसेन्सको प्रतीक्षामा रहेका लाखौँ सेवाग्राहीका लागि राहतको खबर आएको छ। सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागमा थुप्रिएको करिब २६ लाख स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सम्पन्न गर्दै वर्षौँदेखिको ब्याकलग अन्त्य गरेको हो।

विभागले उपलब्ध गराएको विवरणअनुसार २५ लाख ९२ हजारभन्दा बढी लाइसेन्स छापिसकिएको छ। तर एक वर्षभन्दा कम म्याद बाँकी रहेका करिब ३ लाख लाइसेन्स भने तत्काल छापिने छैनन्। ती लाइसेन्स सम्बन्धित सेवाग्राहीले नवीकरण गरेपछि मात्रै मुद्रण गरिने विभागले जनाएको छ।

यो ब्याकलग चार वर्षमा किन यति ठूलो भयोरु सुरुमा छपाइ मेसिनको सीमित क्षमता र कार्ड अभावका कारण काम सुस्त बन्यो। त्यसपछि जेनजी आन्दोलनका क्रममा विभागको लाइसेन्स छपाइ मेसिनमा आगजनीबाट क्षति पुगेपछि विभाग आफैँले लाइसेन्स छाप्न नसक्ने अवस्थामा पुगेको थियो।

त्यसपछि सरकारले लाइसेन्स छपाइको जिम्मेवारी सुरक्षण मुद्रण केन्द्रलाई दिएको थियो। केन्द्रले २०८२ कात्तिक २१ गतेदेखि आधिकारिक रूपमा छपाइ सुरु गर्दै छोटो समयमै वर्षौँदेखिको ब्याकलग समाप्त गरेको हो।

अब पुराना लाइसेन्सको चाङ सकिएको छ भने दैनिक नयाँ र नवीकरण भएका करिब ३ देखि ४ हजार लाइसेन्स नियमित रूपमा छापिने व्यवस्था गरिएको छ। यससँगै स्मार्ट लाइसेन्सका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।