देवेन्द्र किशोर । नेपाली भाषा, साहित्य र पत्रकारिताको इतिहासमा भाषाशास्त्री महानन्द सापकोटाको योगदान बहुआयामिक र दूरगामी रहेको छ। इलाम जिल्लाको इरौँटार–देवानछापमा वि.सं. १९५३ साल वैशाख ३० गते जन्मिएका सापकोटाले आफ्नो जन्मभूमिभन्दा पनि कर्मभूमिका रूपमा पूर्वी नेपालको झापा, विशेषतः भद्रपुरलाई रोजे। भाषाविद्, कोशकार, कवि, निबन्धकार, समाज सुधारक तथा पत्रकारका रूपमा उनले पुर्याएको योगदान आज पनि नेपाली भाषा र पत्रकारिताको इतिहासमा विशिष्ट स्थानमा रहेको छ।
वि.सं. २००७ सालको प्रजातान्त्रिक परिवर्तनपछि पूर्वी नेपालमा भाषा, साहित्य र पत्रकारिताको नयाँ युग प्रारम्भ गर्ने अग्रणी व्यक्तित्वमध्ये महानन्द सापकोटा प्रमुख मानिन्छन्। त्यतिबेला पूर्वाञ्चलमा पुस्तक तथा पत्रपत्रिका छाप्ने आफ्नै पूर्वाधार थिएन। यही अभावलाई महसुस गर्दै उनले झापाको भद्रपुरमा पूर्वाञ्चल प्रिन्टिङ प्रेस स्थापना गरे। यसले पूर्वी नेपालमा छापा माध्यमको विकास, स्थानीय लेखक–स्रष्टाको सिर्जना प्रकाशन तथा सामाजिक–राजनीतिक चेतनाको विस्तारमा ऐतिहासिक भूमिका खेलेको मानिन्छ।
यसै प्रेसबाट प्रकाशित ‘विशाल नेपाल’ पत्रिका (वि.सं. २००८–२०१२) पूर्वी नेपालको साहित्यिक तथा राजनीतिक चेतनाको सशक्त माध्यम बन्यो। यस पत्रिकाले कविता, निबन्ध, भाषा, राष्ट्रियता, लोकतान्त्रिक चेतना तथा सामाजिक रूपान्तरणसम्बन्धी सामग्री प्रकाशन गर्दै तत्कालीन समाजमा वैचारिक बहसको वातावरण निर्माण गर्यो। पूर्वका नयाँ लेखकलाई अवसर प्रदान गर्नुका साथै नेपाली भाषाको विकास र राष्ट्रिय एकताको भावनालाई बलियो बनाउने कार्यमा उनको उल्लेखनीय योगदान रह्यो।
महानन्द सापकोटाको अर्को महत्वपूर्ण पक्ष नेपाली भाषाको संरक्षण र प्रवर्द्धनसँग जोडिएको छ। पूर्वी नेपालमा हिन्दी भाषाको बढ्दो प्रभावका विरुद्ध उनले नेपाली भाषाको प्रयोग र प्रतिष्ठाका लागि जनजागरण अभियान सञ्चालन गरे। गोर्खा भाषा प्रचारिणी समितिसँगको सहकार्य तथा नेपाली भाषा प्रचारक सङ्घका योजनाकारका रूपमा उनले भाषा आन्दोलनलाई संस्थागत रूप दिए। भाषालाई राष्ट्रिय पहिचानको आधार मान्ने उनको दृष्टिकोणले नेपाली भाषालाई वैज्ञानिक र व्यावहारिक आधारमा स्थापित गर्न ठूलो योगदान पुर्यायो।
भाषाशास्त्रमा उनको योगदान झन् विशिष्ट छ। ‘नेपाली निर्वचनको रूपरेखा’ जस्तो अनुसन्धानमूलक कृतिका लागि उनले वि.सं. २०२७ सालको मदन पुरस्कार प्राप्त गरे। यस कृतिले नेपाली शब्दको उत्पत्ति, व्युत्पत्ति र अर्थविकासलाई वैज्ञानिक ढङ्गले विश्लेषण गर्दै नेपाली भाषाविज्ञानलाई नयाँ उचाइमा पुर्याएको मानिन्छ। त्यसैगरी ‘ध्वनीको धन्दा’, ‘खस र खस भाषा’, ‘जनजिब्रो’, ‘सरिशब्द’ र ‘नेपाली शब्द–परिचय’ जस्ता कृतिहरू नेपाली भाषाशास्त्र र कोश निर्माणका आधारग्रन्थका रूपमा आज पनि स्मरणीय छन्।
साहित्यकारका रूपमा पनि महानन्द सापकोटाको योगदान उल्लेखनीय छ। ‘मनलहरी’, ‘विशाल नेपाल’, ‘आँटे’, ‘अपुङ्गो’, ‘सुखको बाटो’ लगायतका कृतिमार्फत उनले राष्ट्रियता, सामाजिक चेतना र मानवीय संवेदनालाई अभिव्यक्त गरेका छन्। झ्यारे गीतको संरक्षण, देशभक्तिपूर्ण कविता तथा जनमुखी लेखनका कारण उनी “देशभक्त कवि” का रूपमा समेत परिचित भए। ‘जुनेली’ पत्रिकाको सम्पादन तथा ‘हाम्रो साहित्य’ श्रृङ्खलाको सम्पादनमार्फत उनले नयाँ पुस्ताका साहित्यकारलाई पनि प्रेरणा दिए।
झापाको पत्रकारिता इतिहासका सन्दर्भमा महानन्द सापकोटाको योगदानबारे आज पनि बहस हुने गरेको पाइन्छ। कतिपय इतिहासकारले वि.सं. २०१३ मा प्रकाशित ‘केटो’ लाई झापाको पहिलो साहित्यिक पत्रिका मान्छन्। तर सापकोटाले भद्रपुरमा स्थापना गरेको प्रेसबाट वि.सं. २००८ देखि नै ‘विशाल नेपाल’ प्रकाशित भएको दाबी पनि विभिन्न संस्मरण, मौखिक इतिहास र स्थानीय अध्ययनमा प्रस्तुत गरिएको छ। यदि त्यसका प्रमाणहरू पुष्टि हुन्छन् भने झापाबाट प्रकाशित प्रारम्भिक पत्रिकामध्ये ‘विशाल नेपाल’को स्थान पुनर्मूल्याङ्कन गर्नुपर्ने आवश्यकता देखिन्छ।
इतिहास लेखन तथ्य, प्रमाण र निष्पक्ष अध्ययनमा आधारित हुनुपर्छ। कुनै पनि व्यक्तिको योगदानलाई अतिरञ्जित गर्नु वा बेवास्ता गर्नु दुवै इतिहासप्रतिको अन्याय हुन सक्छ। त्यसैले झापाको पत्रकारिता र छापा माध्यमको इतिहाससम्बन्धी अभिलेख, पुराना पत्रिका, सरकारी दर्ता अभिलेख तथा समकालीन स्रोतहरूको पुनः अध्ययन आवश्यक देखिन्छ। इतिहासमा रहेका सम्भावित रिक्तता वा विवादलाई अनुसन्धानमार्फत स्पष्ट पार्नु नै विद्वत् समाजको दायित्व हो।
आज डिजिटल सञ्चारको युगमा पत्रकारिता र साहित्य दुवै तीव्र परिवर्तनको चरणमा छन्। यस्ता समयमा महानन्द सापकोटाले स्थापना गरेको भाषा चेतना, स्वतन्त्र विचार, प्रकाशन संस्कृति र मातृभाषाप्रतिको प्रतिबद्धताले अझ बढी सान्दर्भिकता प्राप्त गरेको छ। भाषा केवल सञ्चारको माध्यम होइन, राष्ट्रिय अस्मिता र सांस्कृतिक अस्तित्वको आधार पनि हो भन्ने सन्देश उनले आफ्नो सम्पूर्ण जीवनबाट दिएका छन्।
त्यसैले महानन्द सापकोटा एक भाषाशास्त्री वा साहित्यकार मात्र होइनन्; उनी पूर्वी नेपालको भाषा आन्दोलन, छापा पत्रकारिता, साहित्यिक जागरण र बौद्धिक इतिहासका एक महत्वपूर्ण निर्माता हुन्। उनको योगदानको निष्पक्ष मूल्याङ्कन, प्रमाणमा आधारित अनुसन्धान र भावी पुस्तासम्म सही इतिहास पुर्याउनु आजको पुस्ताको साझा जिम्मेवारी हो। त्यही नै उनको स्मृतिप्रति सच्चा सम्मान हुनेछ।
(अध्यक्ष नेपाली साहित्य परिषद झापा )






































