सुर्खेत । कर्णाली नदीमा दुर्घटनाग्रस्त भएको फोर्स गाडी र बेपत्ता सहचालकको खोजी १२ दिन बित्दा पनि निष्कर्षमा पुग्न सकेको छैन। नदीको बहाव तीव्र र पानी धमिलो बन्दै गएपछि खोजीमा खटिएका अधिकांश प्राविधिक टोली तथा सुरक्षाकर्मी फिर्ता भएका छन्।

असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङ्गेतडामा कर्णाली राजमार्गबाट करिब ४ सय मिटर तल नदीमा खसेको फोर्स गाडीसँगै पाँचमध्ये चार जना बेपत्ता भएका थिए। हालसम्म चालक तुलाराम सुवेदी, मेगे तिरुवा र १८ वर्षीया सिर्जनाको शव विभिन्न स्थानबाट फेला परिसकेको छ। तर गाडी र सहचालक रामप्रसाद सुवेदी अझै भेटिएका छैनन्।

प्रमुख जिल्ला अधिकारी आनन्द सारुले निरन्तर वर्षा र नदीको बढ्दो बहावका कारण सोनार क्यामरा, म्याग्नेट, ड्रोन तथा गोताखोरसहित परिचालित प्राविधिक टोलीसमेत फर्किएको जानकारी दिए। उनका अनुसार अहिले सीमित संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी मात्र घटनास्थल आसपास निगरानीमा छन्।

घटनापछि नेपाली सेनाको हेलिकप्टरसहित विभिन्न प्रविधि प्रयोग गरेर खोजी गरिए पनि बेपत्ता गाडी र सहचालकको अवस्था अझै अज्ञात रहेको छ।