एजेन्सी। युरोपमा बढ्दो तापक्रम घातक बन्दै गएको छ। जुन महिनाको अन्तिम सातामै चर्को गर्मीका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ।  युरोपको पश्चिमी भागमा चर्को गर्मीका कारण जुन महिनाको अन्त्यतिर १० हजार भन्दा बढीको मृत्यु भएको छ।

आधिकारिक तथ्याङ्कले अरू वर्षमा हुने मृतकको संख्याभन्दा यस वर्षको जुनमा थप १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको देखायो भनेर समाचार संस्था रोएटर्सले  जनाएको छ।

युरोमोमो र विश्व स्वास्थ्य सङ्गठनसँग आबद्ध नेटवर्कका अनुसार ज्यान गुमाउनेमध्ये ९ हजारभन्दा बढी ६५ वर्षमाथिका वृद्धवृद्धा रहेका छन्। अत्यधिक गर्मीले हिट स्ट्रोक, मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या जटिल बनाउँदा मृत्यु संख्या बढेको हो।

वैज्ञानिकहरूले यो घातक गर्मीको लहरलाई मानव–सिर्जित जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भन्दै चेतावनी दिएका छन्। जर्मनीमा मात्रै यस वर्ष गर्मीका कारण ५ हजारभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ। जलवायु संकट अब भविष्यको होइन, वर्तमानकै घातक वास्तविकता बनिसकेको विशेषज्ञहरूले चेतवानी दिएका छन् ।