काठमाडौं। आत्मदाहपछि उपचारका क्रममा ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको शव अन्तिम संस्कारका लागि सोमबार पशुपति आर्यघाट लगिएको छ। सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि अन्त्येष्टिको प्रक्रिया अघि बढाइएको हो।सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गरिनेछ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ भने त्यसकै आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा निर्णय प्रक्रिया अघि बढाइने जनाइएको छ।

घटनाका दिन खटिएका महानगर प्रहरीलाई निलम्बन गरी छानबिनको निष्कर्षअनुसार थप कारबाही गरिने सहमति भएको छ। यस्तै, मृतककी श्रीमतीलाई काठमाडौं महानगरपालिकामा योग्यताअनुसार रोजगारी, छोरीको उच्च शिक्षासम्मको खर्च, राहत रकम, स्वास्थ्य बीमा तथा अन्त्येष्टिसम्बन्धी सम्पूर्ण व्यवस्थाको जिम्मेवारी सरकार र महानगरले लिने सहमति पनि भएको छ।