काठमाडौं। काठमाडौं उपत्यकामा बढ्दो सवारी चोरीका घटनाबीच प्रहरीले फेला पारेका ५१ वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई फिर्ता गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार आयोजित कार्यक्रममा पछिल्लो एक महिनामा बरामद भएका ३५ मोटरसाइकल र १६ स्कुटर सम्बन्धित मालिकलाई हस्तान्तरण गरेको हो।
ट्राफिक प्रहरीका अनुसार अधिकांश सवारी साधन पार्किङ गरिराखिएको अवस्थामै चोरी हुने गरेका छन्। त्यसैले लामो समय सवारी पार्किङ गर्नुपरे नजिकको प्रहरी वा ट्राफिक कार्यालयलाई जानकारी गराउन तथा एन्टि–लक, अलार्म र जीपीएस ट्र्याकरजस्ता सुरक्षा प्रविधि प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
ट्राफिक प्रहरीको भनाइमा सवारीधनी स्वयं सतर्क भए मोटरसाइकल तथा स्कुटर चोरीका घटना उल्लेखनीय रूपमा घटाउन सकिन्छ।






































