काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशका विभिन्न जिल्लामा रहेका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ। लगातारको वर्षाका कारण नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।

विभागका अनुसार पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, सङ्खुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी ९पूर्व–पश्चिम०, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलालीलगायत जिल्लाका साना नदीमा बाढीको जोखिम रहेको छ।

बाढीविद् विनोद पराजुलीका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका क्षेत्रमा पनि आकस्मिक बाढीको सम्भावना रहेकाले विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ।

आज र आज रातिसमेत देशका अधिकांश प्रदेशमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने मौसम विभागको पूर्वानुमान छ।

विभागले नदी किनार, खोल्साखोल्सी, डुबान हुने क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा अनावश्यक आवतजावत नगर्न तथा स्थानीय प्रशासनको सूचनालाई नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।