काठमाडौं । कीर्तिपुरको सुन्दरीघाटस्थित डुबानमा परेको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरबाट ३१ घरपरिवारका ८९ जना सुकुम्बासीलाई भक्तपुरको खरिपाटी स्थानान्तरण गरिएको छ। केही परिवारलाई भने बोडे होल्डिङ सेन्टरमा सारिएको छ।

बाढीले होल्डिङ सेन्टर जलमग्न भएपछि सुकुम्बासीका लत्ताकपडा, खाद्यान्न र दैनिक उपभोगका अधिकांश सामग्री नष्ट भएका छन्। मध्यराति आएको बाढीका कारण धेरैले आफ्नो सामानसमेत जोगाउन पाएनन्।

सुरक्षाकर्मीले डुबानमा परेका बासिन्दाको उद्धार गरी केहीलाई त्रिभुवन विश्वविद्यालय परिसरमा अस्थायी रूपमा राखेका थिए। त्यसपछि सरकारले चरणबद्ध रूपमा उनीहरूलाई खरिपाटी र बोडेतर्फ स्थानान्तरण गरेको हो।

बागमती किनारबाट सुरक्षित व्यवस्थापनु भन्दै हटाइएका सुकुम्बासीहरू अहिले फेरि अर्को अस्थायी आश्रयको खोजीमा भौतारिन बाध्य भएका छन्।