काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्बासी व्यवस्थापनमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाएका छन्।
आइतबार जारी विज्ञप्तिमा उनले जोखिमबाट जोगाउने नाममा सुकुम्बासीलाई एक जोखिमबाट निकालेर अर्को अझ ठूलो जोखिममा पुर्याइएको टिप्पणी गरेका छन्। कीर्तिपुर होल्डिङ सेन्टर नै डुबानमा परेपछि सरकारको 'सुरक्षित स्थानान्तरण'को दाबी व्यवहारमै असफल भएको उनको भनाइ छ।
आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहले सुकुम्बासीलाई सुरक्षित र व्यवस्थित बसोबासको सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै "त्यो वाचा कहाँ हरायो?" भन्दै प्रश्न गरेका छन्।
उनले अहिले सुकुम्बासीहरू फेरि भोक, डुबान, अभाव र असुरक्षाबीच बाँच्न बाध्य भएको उल्लेख गर्दै यसलाई राज्यको गैरजिम्मेवारी, संवेदनहीनता र कमजोर शासनको उदाहरण बताएका छन्।
यस्तै, पीडितको अवस्था बुझ्न पुगेका अभियानीलाई पक्राउ गरिएको घटनाप्रति पनि उनले आपत्ति जनाएका छन्। लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने नागरिकमाथि बल प्रयोग गर्नु अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको आक्रमण भएको उनको आरोप छ।
अन्त्यमा आङ्देम्बेले प्रधानमन्त्रीलाई सुकुम्बासीसँग गरिएको वाचा पूरा गर्न र त्यसको जवाफ दिन आग्रह गर्दै नागरिकसँग गरिएका प्रतिबद्धताको हिसाब इतिहासले राख्ने चेतावनी दिएका छन्।






































