काठमाडौं । कैलालीको एक सार्वजनिक कार्यक्रममा “हामी बालेनको पुलिस होइनौँ, नेपाल प्रहरी हौँ” भन्ने अभिव्यक्तिपछि चर्चामा आएका इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डीएसपी प्रसन्नराज चौधरी लाई कारबाहीस्वरूप जिल्ला तानिएको भन्ने चर्चालाई नेपाल प्रहरीले अस्वीकार गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्ले ले डीएसपी चौधरीमाथि कुनै औपचारिक कारबाही वा निलम्बन नभएको स्पष्ट पार्दै, चेन अफ कमान्डअनुसार घटनाबारे जानकारी लिन र आवश्यक काउन्सिलिङका लागि मात्र जिल्ला बोलाइएको बताएका छन्। प्रवक्ता काफ्लेका अनुसार सार्वजनिक कार्यक्रममा प्रहरी अधिकृतहरूले अभिव्यक्ति दिँदा पदको मर्यादा, व्यावसायिक आचरण र कानुनी सीमालाई विशेष ध्यान दिनुपर्ने हुन्छ। कुनै व्यक्तिको नाम लिएर सार्वजनिक टिप्पणी गर्दा थप जिम्मेवारी र संयमता आवश्यक हुने उनको भनाइ छ।
यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख नरेन्द्र चन्द ले पनि डीएसपी चौधरीलाई अन्य प्रशासनिक विषयसँगै सार्वजनिक भएको भिडियोबारे जानकारी लिन जिल्ला बोलाइएको बताएका थिए। डीएसपी चौधरीको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको अभिव्यक्तिलाई लिएर व्यापक बहस र विभिन्न अड्कलबाजी सुरु भएको थियो।




































