मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गको सलकपुर चोकमा सशस्त्र प्रहरी बल नेपालले छड्के जाँचका क्रममा करिब पाँच लाख रुपैयाँ बराबरका अवैध लत्ताकपडा बरामद गरेको छ।
शनिबार साँझ काकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००७ ख ००३४ नम्बरको ‘पाँचपोखरी’ बस मा सशस्त्र प्रहरी बल, नेपाल मद्दती तथा सेवा गुल्म सुनसरी (सलकपुर) बाट प्राविधिक सशस्त्र प्रहरी निरीक्षक ई. नवीन बानियाँ नेतृत्वको सात सदस्यीय टोलीले छड्के जाँच गरेको थियो।
जाँचका क्रममा बिल–विजक बिना भन्सार छली गरी ल्याइएको अन्दाजी रु. ५ लाख बराबरका साडी, कुर्ता–सुरुवाल, लेगिज तथा टप्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बानियाँका अनुसार बरामद गरिएका कपडाहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी २०८३ असार २२ गते विराटनगर भन्सार कार्यालय, रानीमा बुझाइने तयारी गरिएको छ।
भन्सार छली नियन्त्रण तथा राजस्व चुहावट रोक्न सशस्त्र प्रहरीले पूर्व–पश्चिम लोकमार्गलगायत विभिन्न क्षेत्रमा नियमित रूपमा छड्के जाँचलाई तीव्र बनाउँदै आएको जनाएको छ।






































