सिरहा ।  गृहमन्त्री सुदन गुरुङको विशेष निर्देशन र 'एक्सन' पछि सीमा क्षेत्रमा सुरक्षा र निगरानी तीव्र पारिएको छ । यसै क्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाले सीमा क्षेत्रबाट ठुलो परिमाणमा अवैध सामान बरामद गरेको छ ।

बिहीबार सीमा क्षेत्रका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष चेकजाँच अभियानका क्रममा भन्सार छली अवैध रूपमा भित्र्याइएका लत्ताकपडा, किराना सामग्री तथा एउटा मोटरसाइकलसहित ९ लाख २६ हजार ८ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका उक्त सामग्रीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी बुझिलिन र थप अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालयमा दाखिला गरिसकिएको छ । "सीमा क्षेत्रमा हुने चोरी-पैठारी, तस्करी तथा राजस्व छली नियन्त्रणका लागि सशस्त्र प्रहरीले आफ्नो निगरानी र विशेष चेकजाँचलाई थप कडा र निरन्तरता दिँदै आएको छ," सशस्त्र प्रहरी बलले जनाएको छ ।

गृहमन्त्रीको कडा रूप र सुरक्षा निकायको सक्रियताका कारण पछिल्लो समय सीमा नाकाहरूमा अवैध गतिविधि गर्ने तस्करहरू निरुत्साहित हुन थालेका छन् ।