काठमाडौं / राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले नेपालमा युवा उद्यमशीलताको ठूलो सम्भावना रहेको भन्दै उद्यमशीलता प्रवद्र्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने बताएका छन् ।
शुक्रबार सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायी पुरस्कार कार्यक्रममा बोल्दै मल्लले अमेरिकामा १७ वर्ष अध्ययन र काम गरेपछि नेपाल फर्किनुको मुख्य कारण गाउँ–गाउँमा रहेका युवा तथा महिला उद्यमीको ऊर्जा, उत्साह र क्षमता भएको बताए। उनले भने,‘ मैले भेटेका हरेक युवा र महिला उद्यमीको आँखामा ऊर्जा, उत्साह र प्रतिभा देखेँ । त्यसैले नेपालमै सम्भावना रहेछ भन्ने विश्वासका साथ भूकम्पपछि स्वदेश फर्किएँ ।’ उनले राजनीतिक परिवर्तनपछि अब नागरिकले आर्थिक उपलब्धि खोजिरहेको उल्लेख गर्दै सरकारले त्यसतर्फ केन्द्रित भएर काम गर्नुपर्ने बताए । ‘राजनीतिक परिवर्तन भइसकेको छ । अब जनताले आर्थिक डेलिभरी खोजिरहेका छन्। त्यसका लागि बजेटको प्रभावकारी कार्यान्वयन सबैभन्दा महत्त्वपूर्ण विषय हो,’ मल्लले भने ।
उनका अनुसार सरकारले यस वर्षको बजेटमार्फत उद्यमशीलता प्रवद्र्धनका लागि ‘नेसनल इन्टरप्राइज फेसिलिटी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि ५० करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै उनले नीति सुधार, नवप्रवर्तनमा लगानी, एक्सेलेरेटर तथा इन्क्युबेटर कार्यक्रमको प्रवद्र्धन, डिजिटल प्रणाली विकास र ‘इन्टरप्राइज नेपाल’ अभियानलाई प्राथमिकता दिइने बताए। मल्लले गाउँका उद्यमीका समस्या नीतिमार्फत सम्बोधन गर्न ‘इन्टरप्राइज पोलिसी ल्याब’ स्थापना गर्ने, निजी क्षेत्र र विकास साझेदारको लगानी आकर्षित गर्न ‘फन्ड अफ फन्ड्स’ अवधारणा अघि बढाइने तथा उद्यमीलाई ‘इनोभेसन भाउचर’ उपलब्ध गराउने योजना रहेको जानकारी दिए।
सरकारले साउन १ गतेभित्र कार्यविधि स्वीकृत गर्ने, पुसमा मध्यावधि समीक्षा गर्ने र आगामी बजेटमा अझ ठूलो कार्यक्रम ल्याउने लक्ष्य राखेको उनले बताए। कार्यक्रममा उनले पुरस्कार वितरणमै सीमित नभई पुरस्कृत उद्यमीलाई बजारसँग जोड्ने, उनीहरूको उत्पादनको व्यावसायीकरण गर्ने र नीतिगत सुधारमा उनीहरूका सुझाव समेट्ने प्रतिबद्धता जनाए । ‘उद्यमशील राष्ट्र निर्माण नै हाम्रो लक्ष्य हो। कुनै पनि युवा बाध्य भएर विदेशिनु नपरोस् भन्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ,’ उनले भने ।
मल्लले नीति निर्माण र कार्यान्वयनमा सरकार, निजी क्षेत्र, युवा उद्यमी तथा विभिन्न निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै पुरस्कृत १५ जना उद्यमीलाई राष्ट्रिय योजना आयोगमा छलफलका लागि निमन्त्रणा दिइएको जानकारीसमेत दिए।




































