काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टाभित्र सर्पदंशका घटनाले गम्भीर रूप लिएको छ। ७ जिल्लामा भएका ११ वटा सर्पदंशका घटनामा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३० वटा विपद्का घटना दर्ता भएका छन्। सर्पदंशपछि पहिरोका घटनाले पनि मानवीय क्षति पुर्याएको छ। ४ जिल्लामा भएका ४ वटा पहिरोका घटनामा १ जनाको ज्यान गएको छ।
यस्तै आगलागीका ५ घटनामा १ जना घाइते भएका छन् भने वन डढेलो, चट्याङ, हावाहुरी, बाढी र जनावर आक्रमणका घटनासमेत भएका छन्। यी घटनाबाट २४ जिल्ला प्रभावित भएका छन्।
प्राधिकरणका अनुसार विपद्का घटनाबाट करिब १४ लाख ४८ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ। राहत, खोज तथा उद्धारका लागि देशभर १२७ जना प्रहरी परिचालन गरिएको छ।
मनसुन सक्रिय भएसँगै सर्पदंशका घटना बढ्न थालेका छन्। विज्ञहरूले विशेष गरी ग्रामीण क्षेत्रमा रातिको समयमा थप सतर्कता अपनाउन आग्रह गरेका छन्।






































