पर्सा  ।    पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–२, मिर्जापुरस्थित नहरको छेउबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ।

असै विनोद कुमार झाको कमाण्डमा खटिएको पैदल गस्ती टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको छेउमा लुकाईछिपाई बेवारिसे अवस्थामा राखिएको २५ वटा पोकामा रहेको गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर प्रहरीले आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ। उक्त गाँजा कसले र कुन उद्देश्यले त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण तथा अवैध ओसारपसार विरुद्ध प्रहरीको अभियानलाई थप प्रभावकारी बनाउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।