पर्सा । पर्सा प्रहरीले लागुऔषध गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई जनालाई सवारी साधनसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा सोमबार दिउँसो करिब ३:५० बजे वीरगञ्ज महानगरपालिका–२१ स्थित ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा इलाका प्रहरी कार्यालय पोखरिया र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले बा.११ च ५७३६ नम्बरको बोलेरो पिकअप गाडीलाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको पछाडिको डब्बामा त्रिपालले छोपेर प्लास्टिकमा बेरेर राखिएको ८ वटा पोकाभित्र रहेको १०९ किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ निवासी ३० वर्षीय सुभाष थामी (चालक) र सोही जिल्लाका २८ वर्षीय छत्रबहादुर थामी रहेका छन्।
प्रहरीले गाँजासहित बोलेरो पिकअप नियन्त्रणमा लिई दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।






































